kumari
stcnepal

पृथ्वी बहादुर शाहलाइ ११ बर्ष थुनामा राख्न सिआईबीको माग दावी

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पृथ्वीबहादुर शाहसहितको समूहबारे अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । बुधबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा अनुसन्धान प्रतिवेदन बुझाएको हो । ब्युरोले अनुसन्धानमा भएको प्रगतिबारे पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । ब्यूरोले अछाम घर भएका ३५ वर्षीय शाह सहित ७ जनालाई केन्द्रीय अनुसन्धान २२ पुसमा पक्राउ गरेको थियो । उनीहरू विरुद्ध ब्युरोले ठगी, लिखत सम्बन्धी कसुर, सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा अनुसन्धान गरेको छ ।

४ वटा शीर्षकमा प्रहरीले गरेको अनुसन्धानको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा लैजाने तयारी गरेको छ । सीआईबीले शाहलाई कम्तीमा साढे ११ वर्ष थुनामा राख्न मागदाबी लिनुपर्ने प्रतिवेदन बुझाएको छ । पृथ्वी शाहका भाइ विजयविक्रम शाहले सहकारी ठगी गरेको अनुसन्धानबाट थाहा भएको ब्यूरोले जनाएको छ । लालपुर्जा किर्ते गरेर शाहले काठमाडौँ महानगरपालिका–७ स्थित चाबहिलको जग्गा धितो राखेर ऋण लिएको भेटिएको छ । शाहले ठगी गरेर ४६ लाख डलर, ३ करोड नेपाली र १२ हजार पाउन्ड स्टर्लिङ गरी कुल ६५ करोड नेपालमा भित्र्याएका छन् ।

ब्युरोले गरेको अनुसन्धानबाट शाहले ४४ जना अमेरिकन नागरिकलाई ठगेर नेपालमा पैसा भित्र्याएको खुलेको छ । २४ जना अमेरिकनले शाहबाट ठगिएको जाहेरी दिएका छन् । पीडित अमेरिकन नागरिकले इमेल गरेर सीआईबीमा जाहेरी पठाएका हुन् । सीआईबीले एफबीआईको सहयोगमा अनुसन्धान गरेको थियो । जसअनुसार अमेरिकन नागरिकको कम्प्युटरमा पहुँच बनाएर उनीहरूको खातामा रकम जम्मा भएको फर्जी विवरण देखाएर शाहले सो रकम आफ्नो भएको दाबी गर्दै नेपाल पठाउन लगाएको थाहा भएको छ ।

एफबीआईको सहयोगमा अनुसन्धान पुरा गरिएको सीआईबीका एसपी सञ्जयसिंह थापाले पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार एन्टी भाइरस अपडेट, अमाजोन को बिल भुक्तानी, गिक स्क्वाड र क्विक बुक्सको नाममा आरोपीहरूले अमेरिकन नागरिकको कम्प्युटरमा सम्पर्क स्थापित गर्ने गरेको अनुसन्धान बाट थाहा भएको छ । सीआईबीको अनुसन्धान प्रतिवेदनमा भनिएको छ, ‘इमेलमार्फत पीडितसँग सम्पर्क स्थापित गरेपछि रिमोट एक्सेसबाट पीडितहरूको डिभाइस मार्फत बैङ्क खातामा पहुँच राख्ने गरेको देखिन्छ । बैङ्क खातामा पहुँच राखेर मौज्दात रकम नेपाल र थाइल्यान्डमा पठाउने गरेको देखिन्छ ।’ सीआईबीका अनुसार इन्टरनेट मार्फत ठग्न प्रयोग भएको नेटवर्क भारतको वेस्ट बङ्गाल बाट सञ्चालन भएको देखिएको छ ।

 

footer