kumari
stcnepal

वर्षमानकी आमा माथि प्रकाशले नियतवश गोली नचलाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष

काठमाडौँ । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तिर्थमाली पुन मगरलाई गोली प्रहार गर्नुको कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न सहायक हवल्दार प्रकाश पुनमगरलाई शनिवार बिहान प्रहरीले बागडोल बाट पक्राउ गरेको थियो । उनलाई प्रहरी प्रधान कार्यालयस्थित नम्बर–१ गणमा आन्तरिक थुनामा राखिएको छ ।

राति नयाँ वर्ष मनाउन ७४ वर्षीया हजुरआमा तिर्थमालीको निवास बालुवाटार गएका प्रकाश गोली चलेपछि भागेका थिए । प्रकाशले नियतवश गोली नचलाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत सहायक हवल्दार प्रकाश पुनमगर सँग प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको चाइनिज ‘टाइप–५४’ पेस्तोल साथमा थियो । सोही पेस्तोलबाट एक राउण्ड फायर भएको भेटिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट ‘दुर्घटना’ भएको देखिएको उपत्यका प्रहरी कार्यालयका एआईजी श्यामलाल ज्ञवालीले बताए । उनले भने– ‘प्रारम्भिक अनुसन्धान बाट पेस्तोल आफैं पड्केको देखिन्छ, थप अनुसन्धान भइरहेको छ ।’ तिर्थमालीका नाति हुन प्रकाश । गएराति अबेरसम्म बसेर मदिरा सेवन गरेपछि हजुरआमाले उनलाई चाँडो डेरामा फर्किन भकेकी थिइन् । प्रकाशले ‘अबेर भएर केही हुँदैन म सँग हतियार छ’ भन्दै पेस्तोल निकालेका थिए ।

अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतका अनुसार झोला बाट पेस्तोल निकाल्ना साथ असावधानीपूर्वक पड्किएको थियो । अनुसन्धान अधिकृतहरु सँग सहायक हवल्दार प्रकाशले भनेका छन्– ‘मैले गोली चलाएको होइन, आफैं पड्कियो ।’ पेस्तोल बाट फायर भएपछि डरले उनी त्यहाँ बाट भागेको अनुसन्धान अधिकृतहरु बताउँछन् । नयाँ वर्ष मनाउने पारिवारिक जमघटमा वर्षमान पुनका भाइहरु पनि सहभागी थिए ।

footer