kumari
stcnepal

तत्कालीन उपप्रधानमन्त्री एवं भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदार र राज्यमन्त्री संजय साह ‘टकला’ पनि किर्ते मुद्दामा संलग्न : केन्द्रीय अनुसन्धान ब्यूरो

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको छानबिनमा तत्कालीन उपप्रधानमन्त्री एवं भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदार र राज्यमन्त्री संजय साह ‘टकला’ पनि ‘किर्ते’ मुद्दामा संलग्न रहेको ठहर गरिएको छ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा उनीहरु ‘सरकारी लिखत किर्ते’मा संलग्न देखिएको छानविन प्रतिवेदनमा उल्लेख गरिएको छ । २०७६ पुस १८ मा ब्यूरोका तत्कालीन एसपी बेल बहादुर पाण्डे, डीएसपी महेन्द्र खड्का, इन्स्पेक्टर पंचकुमार बाखु, हरिनन्दन चौधरी, सई रामकृष्णप्रसाद पाठक र सई विष्णु प्रसाद ढुंगानासहितले अनुसन्धान प्रतिवेदन तयार पारी बुझाएका थिए ।

गच्छदारलाई ‘सरकारी लिखत किर्ते’ मुद्दामा कारवाहीको सिफारिस गरिए पनि उनी विरुद्ध ब्यूरोले अहिले पक्राउ अनुमति मागेको छैन । तत्कालीन उपप्रधानमन्त्री एवं भौतिक योजना तथा निर्माण मन्त्री गच्छदारले विशिष्ट व्यक्तिहरुको निवास बिस्तार सम्बन्धमा गुरुयोजना तयार गरेर ‘टिप्पणी सदर गरी मन्त्रिपरिषद्मा लगेको’ ब्यूरोको छानविनबाट देखिएको छ । २०६७ असार २८ मा भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यातले टिप्पणी सदर गरी मन्त्री गच्छदारकहाँ पेस गरेका हुन् । सो प्रस्ताव राज्यमन्त्री संजय साह र उपप्रधानमन्त्री गच्छदारले सदर गरेर मन्त्रिपरिषद्मा लगेका थिए ।

निवास विस्तार र ललिता निवास क्षेत्रमा बाटो विस्तार गर्दा २७ रोपनी जग्गा हिनामिना भएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसएसपी दिनेश आचार्यले  बताए । सभामुख निवासबाट एनआरएनए भवनतर्फ जाने बाटोमा ८ रोपनी जग्गा परेको छ । सो प्र्रस्तावमा तत्कालीन सहसचिव नारायणगोपाल मलेगोले टिप्पणीमा राय सहित पेस गरेका थिए । त्यस्तै तत्कालीन शाखा अधिकृत कृष्ण रावतले प्रस्तावको लागि टिप्पणी उठाएका थिए ।

footer