kumari
stcnepal

भक्तपुरमा १५ दिन देखि हराइरहेकी महिला मृत अवस्थामा फेला

काठमाडौं । भक्तपुरमा १५ दिन देखि हराइरहेकी महिला मृत अवस्थामा फेला परेकी छन् । सूर्यविनायक नगरपालिका–७, गुण्डुकी ३८ वर्षीया माया नगरकोटीको शव फेला परेको जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रमुख प्रजित केसीले बताए । उनी बेपत्ता भएको भन्दै परिवारले खबर गरेपछि प्रहरीले विभिन्न स्थानमा सर्च अपरेशन चलाएको थियो । तर, फेला परेकी थिइनन् ।

बिहीबार शव भेटिएको स्थान प्रहरी वृत्त, जगानीबाट ५ किलोमिटर दक्षिण पश्चिमतिर पर्ने प्रहरीले जनाएको छ । उनको खोजीमा असार १७ देखि नै प्रहरीको तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको थियो । तर, कुनै सुराक हात लागेको थिएन । अहिले शव भेटिएको स्थान नजिकै विषको एउटा बट्टा पनि फेला परेको छ । उनले त्यो विष सेवन गरे नगरेको यकिन गर्न प्रहरीले भिसेरा जाँच गर्ने भएको छ ।

‘शवलाई पोष्टमार्टमका लागि पठाएका छौं, भिसेरा जाँचबाट मृत्यु हुनुअघि खाएको के–के खाएको थियो भन्ने थाहा हुन्छ’, केसीले भने, ‘त्यसपछि नै मृत्युको कारण खुल्नेछ ।’ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

footer