kumari
stcnepal

सुन तस्करी प्रकरण : सीआईबीले लियो पूर्वउपराष्ट्रपति पुत्र दीपेश पुन सँग बयान

काठमाडौँ । ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ पुत्र दीपेश पुनसँग बयान लिएको छ । सीआईबीको अधिकारीहरूले पुनलाई कार्यालयमै बोलाएर बयान लिएका हुन् । सुन तस्करीमा मुछिएका अन्यसँग उनको पनि सम्पर्क देखिएपछि बोलाएर बयान लिइएको एक सीआईबीका एक अधिकारीले जानकारी दिए ।

नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका महासचिवसमेत रहेका पुनलाई सीआईबीले सोमबार बयान लिएको हो । राजश्व अनुसन्धान विभागले गत साउन ३ मा हङहङबाट ब्रेक सुमा लुकाएर ल्याइएको सुन एयरपोर्ट भन्सारबाट बाहिरिने क्रममा बरामद गरेको थियो । सो प्रकरणमा सुरुमा विभागले नै अनुसन्धान गरेको भएपनि पछि सीआईबीले जिम्मा पाएको थियो । आफूले अनुसन्धानको जिम्मा पाएसँगै सीआईबीले सोधपुछ र अनुसन्धानलाई तीव्रता दिएको छ ।

यो प्रकरणमा २६ जना पक्राउ परिसकेका छन् । राजस्वले सुन तस्करीबारे अनुसन्धान गर्न साउन २१ मा सिआईबीलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो ।

 

footer