kumari
stcnepal

६० किलो सुन प्रकरण : २९ जना माथि मुद्दा दर्ता

काठमाडौं । ६० किलो सुन तस्करी गरेको आरोपमा २९ जना माथि मुद्दा दर्ता भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउने गरी प्रतिवेदन दिएको भए पनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २९ जनामाथि मुद्दा दर्ता गरेको हो ।

प्रतिवादी बनाइएका २९ जनामध्ये २६ जना प्रहरी हिरासतमा छन् भने ३ जना फरार छन् । यो प्रकरणमा ३२ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये ६ जनालाई मुद्दा नचलाउन सीआईबीले नै सिफारिस गरेको थियो । सबै आरोपित माथि सुन तस्करी गरेकोमा ३ अर्ब ५० करोड २ लाख रुपैयाँ, ब्रेक प्याडको भन्सारसमेत जोडेर थप २८ लाख ७५ हजार रुपैयाँ गरी कुल बिगो ३ अर्ब ५० करोड ३० लाख रुपैयाँ रहेको जिल्ला अदालतमा पेश भएको अभियोग पत्रमा उल्लेख छ ।

प्रहरीले आरोपित माथि बरामद भएको बाहेक अरु सुन पनि तस्करी गरेको आरोप लगाएको छ । आरोप पत्र अनुसार उनीहरुले ३६२ किलो ७७८ ग्राम सुन तस्करी गरेका छन् । सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन गत बुधबार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । अहिले मिसिल रुजु भइरहेको र आजै मुद्दा दर्ता गर्ने तयारी रहेको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।प्रतिवादीहरुलाई अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐन अन्तर्गतको कसुरका साथै एक साथ यी अपराध गरेकाले एकीकृत कसुरतर्फ थप सजाय माग दाबी गरिएको छ ।

एकीकृत कसुर पुष्टि भएमा सबैभन्दा बढी सजाय हुने कसुरमा थप आधा सजाय समेत जोडिन्छ । पटक पटक अपराध गरेको आरोपमा थुप्तिन छिरिङको हकमा प्रहरीले थप सजाय माग गरेको छ । अभियोग पत्र अनुसार उनी यसअघि नै गैंडाको खाग चोरी तस्करीको आरोपमा दोषी ठहर भएका थिए ।

footer