kumari
stcnepal

नेपालले मंगोलियालाई दुई सय ७३ रनको विशाल अन्तरले हरायो

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले विश्व कीर्तिमानी जित हासिल गरेको छ । नेपालले मंगोलियालाई दुई सय ७३ रनको विशाल अन्तरले हराएको हो ।

यसअघि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो अन्तरको जितको कीर्तिमान चेक गणतन्त्रको नाममा थियो । चेक गणतन्त्रले सन् २०१९ को अगस्त ३० मा खेलिएको खेलमा टर्कीलाई दुई सय ५७ रनले हराएको थियो । नेपालले त्यो कीर्तिमान तोडेको हो । टस हारी पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ओभरमा तीन विकेट गुमाएर तीन सय १४ रन बनायो । त्यो पनि विश्व कीर्तिमान थियो । यसअघि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रनको कीर्तिमान अफगानिस्तानको नाममा थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको मंगोलियाले १३.१ ओभरमा अलआउट हुनुअघि ४१ रनमात्र बनाउन सकेको थियो । मंगोलियाका एक ब्याट्सम्यानले मात्र दोहोरो सङ्ख्यामा रन बनाउन सके । मंगोलियाका दाबासुरेनले सर्वाधिक १० रन बनाए । मंगोलियाले अतिरिक्त रूपमा २३ रन पायो । जवाफी ब्याटिङमा ओर्लिएको मंगोलियालाई सस्तोमा समेट्न नेपाली टोलीका बलर अविनाश बोहरा, करण केसी र सन्दीप लामिछानेले दुई-दुई विकेट लिए । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले पनि एक-एक विकेट हात पारे ।

footer