kumari
stcnepal

जननेता मदन भंण्डारीको सालिक तोडफोड गर्नेलाई कारबाहीको माग

रामेछाप। रामेछापको खाँडादेवी गाउँपालिका–५ पकरबासस्थिति सल्लेनी वनमा रहेको जननेता स्वर्गीय मदन भण्डारीको सालिक अज्ञात समूहले तोडफोड गरेको छ । मन्थली–पकरबास–गाल्पा सडकसँगै जोडिएको मदन भण्डारी पार्कमा राखिएको सालिक तोडफोड भएको हो । महाअष्टमीको राति अज्ञान व्यक्तिले सालिक तोडफोड गरेको खाँडादेवी गाउँपालिका–५ का वडाध्यक्ष मनोज पौडेलले जानकारी दिए ।

मदन भण्डारीको सालिकको एउटा गोडा नै भाँचेर फालिएको छ । सालिकको अन्य विभिन्न भागमा ढुङ्गाले हानेर क्षति पुर्‍याइएको पौडेलले बताए । यसअघि पनि सो पार्कको गेटको ताला पटक पटक फोडिएको थियो । अहिले पार्क भित्रै पसेर सालिक र मार्बल समेत तोडफोड गरिएको पौडेलले जानकारी दिए ।

एमाले नेता डोरमणि पौडेल मुख्यमन्त्री, कैलाश ढुङ्गेल आर्थिक मामिला तथा योजना मन्त्री हुँदा बागमती प्रदेश सरकार, खाँडादेवी गाउँपालिका र वडा कार्यालय समेतको लगानीमा खाँडादेवी–५ को पकरबासमा मदन भण्डारी पार्क निर्माण गरिएको हो । सदरमुकाम मन्थली र आसपासका क्षेत्र तथा खाँडादेवी गाउँपालिका मानिसलाई घुम्न जान सो पार्क पायक पर्ने गरी निर्माण गरिएको थियो ।

यसअघि पनि सो पार्कलाई लक्षित गरी फरक विचार राख्ने केही व्यक्तिहरूले विभिन्न अफवाह फैलाउने गरेको वडाध्यक्ष पौडेलको भनाइ छ । अहिले तिनै व्यक्तिहरूले सालिक तोडफोड गरेको हुनसक्ने उनले आशंका व्यक्त गरे । वडाध्यक्ष पौडेलले घटनामा संलगनलाई खोजी गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

footer