kumari
stcnepal

राजस्व विभागको अन्तःशुल्क स्टिकर सहित व्यापारी पक्राउ

विराटनगर । राजस्व विभागको अन्तःशुल्क स्टिकरसहित एक जना व्यापारीलाई मोरङको धनपालथानबाट प्रहरीले पक्राउ गरेको छ । धनपालथान– ४ कर्सियाबाट प्रहरीले केशव किराना पसलका सञ्चालक ४८ वर्षीय सुनिलकुमार राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।

भोला गुट्खा लगायतका सुर्तीजन्य पदार्थको ‘प्याकेट’मा प्रयोग हुने स्टिकर दुरुपयोग भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ परेका राजवंशीले कर्सिया बजारदेखि पूर्वी सहरसम्मका सुर्तीजन्य पदार्थमा लगाएको अन्तःशुल्कको स्टिकर भण्डारण गरी राख्ने गरेका थिए । उक्त अन्तःशुल्कको स्टिकर अन्य पसलहरूसँग ३ देखि ४ रुपैयाँमा खरिद गर्ने र उनले बुटवलमा रहेको श्री राम उद्योगले उत्पादन गर्ने ‘करेन्ट’ गुट्कामा पुनः प्रयोगको लागि पठाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनले उद्योगलाई ५ देखि ७ रुपैयाँ प्रति गोटा अन्तः शुल्कको स्टिकर विक्री गर्ने गरेको पाएको छ । विगत एक वर्षदेखि उनले यस्तो धन्दा गर्दै आएको खुलेको छ ।

उनको पसलबाट ‘रेडीमेड टोबाक्को’ लेखिएको ३ हजार १ सय ४० थान अन्तःशुल्क स्टिकर बरामद भएको मोरङका डीएसपी रञ्जन दाहालले बताए । उनका अनुसार राजवंशीलाई थप अनुसन्धान एवं कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाएको छ । अहिले राजस्व अनुसन्धान कार्यालयले अनुसन्धान सुरु गरेको छ । गुट्खा, मदिरा लगायतका वस्तु अन्तःशुल्क स्टिकर लगाएर मात्रै बजारमा पठाउन पाइन्छ । त्यसरी प्रयोग भइसकेको स्टिकर उप्काएर पुनः प्रयोगका लागि पठाउने गरेको पाइएको हो । राजवंशीले त्यस्ता स्टिकर स्थानीय व्यापारीसँग पनि सङ्कलन गर्ने गरेको प्रहरीले जनाएको छ ।

स्थानीय व्यापारीबाट सङ्कलन गर्दै आफ्नो घरमा जम्मा पारेर विराटनगरतिर पठाउने गरेका थिए । उद्योगले व्यापारीको पसल– पसल पठाउन गिरोह नै परिचालन गरेको बुझिएको छ ।

footer