kumari
stcnepal

राप्रपाको शक्ति प्रदर्शन

झापा । ष्ट्रिय स्वाभिमान यात्रामा हिँडेको राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहीबार बिर्तामोडमा शक्ति प्रदर्शन गरेको छ । हजारौँको उपस्थितिमा झाँकी र ¥यालीसहित राप्रपाले आमसभा गरेको हो । झापा राप्रपाको सबैभन्दा बलियो पकड भएको जिल्ला हो । झापाका तीनवटा स्थानीय तहमा राप्रपाको नेतृत्व छ । राप्रपाका एक्ला सांसद राजेन्द्र लिङ्देन झापा–३ बाट निर्वाचित भएका हुन् ।

बिर्तामोडको आमसभामा राप्रपा अध्यक्ष कमल थापाले मधेसमा खुलेआम देश टुक्र्याउने आवाज उठिरहँदा पनि सरकार लाचार बनेको बताए । प्रधानमन्त्री केपी ओलीको राष्ट्रियताप्रतिको प्रतिबद्धता र नाकाबन्दीका वेलाको अडानकै कारण जनताले दुईतिहाइ बहुमत दिए पनि अहिले उनी मौनदर्शक बनेको थापाले आरोप लगाए ।

गलत नीति र राजनीतिक दलहरूको अकर्मण्यताका कारण देश टुक्र्याउने आवाज उठिरहेको उनको भनाइ थियो । ‘प्रधानमन्त्रीकै वरिपरि बस्नेले देश लुटिरहेका छन्,’ उनले भने, ‘उहाँ भने लाचार र निरीह बनेर बसिरहनुभएको छ ।’

स्थानीय तहका जनप्रतिनिधिदेखि केन्द्रीय तहका नेतासम्म भ्रष्टाचारको जालोमा चुर्लुम्म डुबेको उनको आरोप थियो । सर्वोच्च अदालतले एनसेलबाट कर असुल्न भने पनि सरकार कानमा तेल हालेर बसेको उनले बताए । ‘३८ क्विन्टल सुन तस्करीबारेको छानबिन समिति बीचैमा तुहियो,’ उनले भने, ‘व्यापारी, कर्मचारी र ठूला नेताको मिलेमतो भएका कारण मुलुकमा भ्रष्टाचार बढिरहेको छ ।’

अध्यक्ष थापाले राष्ट्रिय स्वाभिमान यात्रा कुनै राजनीतिक दल, धर्म, सम्प्रदाय र सरकारविरुद्ध नरहेको स्पष्ट पारे । ०६२÷६३ को जनआन्दोलनको रापतापमा नयाँ नेपाल निर्माण गर्ने नाउँमा हिन्दू राष्ट्रको पहिचान समाप्त पारिएको र राजसंस्था पाखा लगाइएको भन्दै उनले दुःख व्यक्त गरे ।

राप्रपाले मुलुक जोगाउँछ : लिङ्देन

महामन्त्री राजेन्द्र लिङ्देनले राप्रपाले देश जोगाउने बताए । ‘सांसद् र मन्त्री हुनका लागि राप्रपाले यी मुद्दा बोकेको होइन,’ उनले भने, ‘राप्रपा उठ्छ र यही पार्टीले मुलुक जोगाउँछ ।’ ७ फागुनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी ओलीलाई २२ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको बताउँदै लिङ्देनले जनताको बलबाटै माग पूरा गर्ने उद्देश्यले आफूहरू स्वाभिमान यात्रामा निस्किएको स्पष्ट पारे ।

महामन्त्री लिङ्देनले प्रदेश सरकारका बारेमा विमति राखे । ‘केन्द्रमा एउटा सरकार र बलियो स्थानीय सरकार भए पुग्छ,’ उनले भने, ‘प्रदेश सरकार चाहिँदै चाहिँदैन ।’ उनले २०४६ पछिका सबै प्रधानमन्त्री, मन्त्री, उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गर्न माग गरे । कुनै अड्डाको खरिदार र सुब्बालाई थुनेर मात्र भ्रष्टाचार नियन्त्रण नहुने उनको भनाइ थियो । पार्टीको आडमा भ्रष्टाचार गर्ने नेताको सम्पत्ति छानबिन गरेर कारबाही गर्नुपर्ने उनले बताए ।

footer