kumari
stcnepal

बाँसबारी जग्गा प्रकरण : अरूण चौधरी सहित तिनै जना रिहा

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रिहा गरेको छ ।

काठमाडौं जिल्ला अदालतको आदेशअनुसार सीआईबीले सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी, तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई आज थुनामुक्त गरेको हो । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा योजनाबद्ध रुपमा निजी स्वामित्वमा ल्याएको विषयमा अनुसन्धान गरिरहेको सीआईबीले बिहीबार उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ परेपछि ३ जनामाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले प्रथमपटक ४ दिनको म्याद थप गरेको थियो । ४ दिनको म्याद सकिएपछि सीआईबीले सोमबार उनीहरुलाई पुनः म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । तर काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले व्यवसायी चौधरीसहित संजय र अजितनारायणलाई हाजिरी जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न भनी प्रहरीका नाममा आदेश दिएको थियो ।

अदालतले थप गरेको २ दिनको म्याद सकिएकाले सीआईबीले उनीहरुलाई आज रिहा गरेको हो । यद्यपि अनुसन्धान भने जारी रहने सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए ।

 

footer