kumari
stcnepal

संसद्‌को अवरोध फुकाउन नेताहरूको आन्तरिक तथा अनौपचारिक संवाद जारी

काठमाडौँ । ङ्घीय संसद्‌मा उत्पन्न गत्यावरोध फुकाउन प्रमुख राजनीतिक दलका नेताहरूले आन्तरिक तथा अनौपचारिक संवादलाई जारी राखेका छन् । समस्याग्रस्त सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षबिच सहमति नहुँदा सङ्घीय संसद्को बर्खे अधिवेशनको पहिलो दिन शुक्रबार दुवै सदनमा कार्यसूची प्रभावित भएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार सत्तारुढ नेकपा (एमाले) लगायत दलका नेतासँग सहमतिको उपायबारे अनौपचारिक संवाद गरेको उनको सचिवालयले जनाएको छ । तर यही विषयमा आज नेपाली कांग्रेसको पदाधिकारी बैठकले सभामुख देवराज घिमिरे र सरकारको रवैया गलत रहेको निष्कर्ष निकालेको छ ।

सो पार्टीका महामन्त्री गगन थापाले बैठकले सो निष्कर्ष निकालेको जानकारी दिए । ‘बैठकमा गतिरोध अन्त्य र अरू विभिन्न विषयहरूको बारेमा छलफल भयो । संसद्‌मा हिजो सभामुख देवराज घिमिरे र अरू दलहरूसँग पनि छलफल गरेर गतिरोध पनि अन्त्य होस् भन्दा जुन रवैया देखाइयो त्यो गलत छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने भन्दै गर्दा जसरी कार्यसूचीमा पेस गरियो, यसले सरकार छानबिन समिति बनाउन नदिने भन्नेमा उद्धत रहेको हाम्रो निष्कर्ष छ’ थापाले भने ।

सो दलको शुक्रबारको संसदीय दलको बैठकले सहकारीको रकम अपचलन सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको समेत संलग्नताको आरोप लगाउँदै आएकोबारे निष्पक्ष र स्वतन्त्र छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग पुनःअघि सारेको थियो । सरकारको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले अहिलेसम्म सहमतिका लागि ठोस प्रगति नभए पनि अब सदनको बैठक बस्ने दिनसम्म सरकारले सहमतिका लागि कुनै न कुनै उपाय निकाल्ने आशा व्यक्त गरे । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले पनि शीर्ष तहबाट छलफल भई निकास निस्कने आशा व्यक्त गरे । संसदीय समिति गठन गर्न सत्तापक्ष तयार नभएसम्म सदनका बैठक चल्न नदिने अडान राखेपछि पहिलो दिनका बैठकका दुवै सदनका कार्यसूची प्रभावित भएका थिए ।

आगामी जेठ १ गते मङ्गलबार दिउँसो ३ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलको सम्बोधनबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भइसकेको छ । प्रतिनिधिसभाको अर्को बैठक आगामी जेठ १ गते साँझ ६ बजे र राष्ट्रियसभाको अर्को बैठक जेठ १ गते साँझ ५ः३० बजे राखिएको छ ।

 

footer