kumari
stcnepal

गृहमन्त्री लामिछाने माथि अहिलेसम्म आएको तथ्य प्रमाणका आधारमा छानबिन हुनु पर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछाने संसदीय छानबिनका लागि तयार नहुँदा अचम्म लागेको टिप्पणी गरेका छन् ।शनिवार कांग्रेस पदाधिकारी बैठकमा सहभागी हुने क्रममा सञ्चारकर्मीसँग बोल्दै उनले लामिछाने माथि अहिलेसम्म आएको तथ्य प्रमाणका आधारमा छानबिन गर्ने बताए । उनले विगतमा जनार्दन शर्मा, भरतमोहन अधिकारी, रामशरण महत प्रश्न उठेपछि छानबिन समिति बनाउन तयार भएको तर रवि लामिछाने तयार नभएकोमा आश्चर्य लागेको बताए ।

थापाले भने–‘हामीले त भनिरहेका छौँ संसदीय छानबिन समितिको अध्यक्ष एमालेकै बस्नुस्, माओवादीको साथी बस्नुहुन्छ, रास्वपा, राप्रपा बस्नुहुन्छ, हामी पनि बस्छौँ । त्यसले छानबिन गर्ने हो । त्यो बेलामा मिडियाको हेडलाइन ल्याएर संसदीय छानबिन समिति त नबनाउला नि त । प्रहरीको प्रतिवेदन हेर्ला, कम्पनी रजिस्टार कार्यालयको प्रतिवेदन हेर्ला, गोर्खा मिडियाको खाता पल्टाउला । त्यसले कान्तिपुर लगायतका मिडियामा आएको हेडलाइन पल्टाउने होइन होला । मिडियामा आएको कुरालाई संसदीय छानबिन समितिले हेरेर प्रतिवेदन बनाउने होइन होला ।’

उनले छलफल गरेर संसदीय छानबिन समितिको टिओआर बनाएर काम गर्न सकिने बताए । उनले पर्सीको संसद् बैठक अगाडि संसदीय छानबिन समिति बनाउन तयार भए संसद् अघि बढ्ने बताए । संसदीय छानबिन समितिलाई एक दुई महिनाको समय दिन सकिने र त्यसमा सबै दलको प्रतिनिधित्व हुने उल्लेख गरे । उनले सिआइवीले छानबिन गरेको कुरालाई प्रहरी महानिरीक्षकलाई संसदीय समितिमा लगेर केही अनुसन्धान नभएको भनेर बोल्न लगाइएको थापाले बताए । सीआइवीको प्रतिवेदनको आधारमा मुद्दा चल्ने वा नचल्ने फरक कुरा भएपनि प्रहरी महानिरीक्षकलाई केही पनि भएको छैन भन्न लगाएको दाबी गरे ।हिजो नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएका बेला सुरु गरेको अनुसन्धानको काम लुकाएको र संसदीय छानबिन समिति बने ती कुरा खुल्ने डरले लामिछाने डराएको सांसद थापाको दाबी छ ।

footer