kumari
stcnepal

चालु खाता र शोधनान्तर बचत निरन्तर बढ्दै

काठमाडौं । चालु खाता र शोधनान्तर बचत निरन्तर बढ्दै गएको छ । चालु आर्थिक वर्ष (आव) नौ महिना (साउन–चैत) सम्म चालु खाता बचत १ खर्ब ७९ अर्ब ४८ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालु आव सुरुवातदेखि नै रेमिट्यान्समा देखिएको प्रभाव तथा गत वर्षको तुलनामा व्यापार घाटामा देखिएको कमीले चालु खातासँगै शोधनान्तर बचतमा पनि सकारात्मक प्रभाव परेको छ ।

पूँजीगत वस्तुसँगै मध्यवर्ती वस्तुको खुम्चिँदो आयात हिस्सा र आयातमा देखिएको कमीले अर्थतन्त्रमा शिथिलता बढ्दै गएको छ । आन्तरिक अर्थतन्त्र कमजोर भएर आयात संकुचन हुँदा चालु खाता र शोधनान्तर बचत भने लगातार बढ्दै गएको छ । गत आव तेस्रो त्रैमाससम्म ६० अर्ब ४३ करोडले घाटामा रहेको शोधनान्तर स्थिति चालु आवमा भने ऐतिहासिक बचतमा गएको छ । फागुन मसान्तमा १ खर्ब ६६ अर्ब ८७ करोड बचतमा रहेको चालु खाता चैतमा अझै बढेको हो ।

आर्थिक वर्ष २०७८/७९ मा शोधनान्तर घाटा २ खर्ब ५५ अर्ब पुगेपछि सरकार र राष्ट्र बैंकले ठूलै दबाब महसुस गर्दै आयात नियन्त्रण गर्न विभिन्न उपाय गरेका थिए । गत आवमा वाह्य क्षेत्रमा सुधार हुँदै शोधनान्तर बचत २ खर्ब ९० अर्ब पुगेको थियो । चालु आव नौ महिनामै शोधनान्तर बचत गत आवभन्दा बढेर साढे ३ खर्ब पुगेको छ । आव अन्तिम त्रैमासमा वाह्य ऋण परिचालन बढ्ने हुँदा अझै शोधनान्तर बचतमा योगदान पुग्ने छ । चैतसम्म शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

गत आव यही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ७४ अर्ब २८ करोडले बचतमा थियो । फागुनमा शोधनान्तर बचत ३ खर्ब २७ अर्ब ५५ करोड थियो ।समीक्षा अवधिमा चालु आव नौ महिनामा पूँजीगत ट्रान्सफर ४ अर्ब ७८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ४८ करोडले धनात्मक छ । गत आव सोही अवधिमा पूँजीगत ट्रान्सफर ५ अर्ब ९१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६२ करोडले धनात्मक थियो ।

footer