kumari
stcnepal

ठुलो भाग खोज्दा उपेन्द्र यादवको पार्टी विभाजिन, माधव नेपालको हालत पनि उस्तै हुन सक्ने सम्भावना

 

काठमाडौ । नेपालीमा एउटा उखान प्रख्यात छ ‘घाँटी हेरेर हाड निल्नुपर्दछ’ भन्ने यो उखान अहिले ठ्याक्कै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको पार्टीसँग मिलेको छ । आफ्नो हैसियत विर्सिएर प्रधानमन्त्री बन्ने सपना देखेकै कारण पार्टी विभाजिन भयो ।
संघीय संसदमा १२ सांसद रहेको जसपा नेपाल विभाजित भएपछि ७ सांसद अशोक राईले नेतृत्व गरेको जसपामा गएभने केही प्रदेश सांसद समेत राई नेतृत्वको जसपमा गएका छन् । संघीय संसदमा अब यादवको जसपा नेपालमा यादव सहित ५ जना सांसद मात्र रहेका छन् ।
पार्टीमात्र विभाजित भएर यादवले सरकार समेत छोड्नु प¥यो भने मधेश प्रदेशमा जसपा नेपालको नेतृत्वमा रहेको प्रदेश सरकार समेत गुमाउनुपर्ने अवस्थामा यादव पुगेका छन् ।
नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा सहितको गठबन्धनमा उपप्रधान सहित स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेकै बेला पुष्पकमल दाहाल नेतृत्वको सरकार ढालेर नेपाली कांग्रेस सहितको गठबन्धनको सरकार निर्माण गर्ने कार्यमा यादव अघि बढेका र उनलाई एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले समेत साथ दिएका र कांग्रेका सभापति शेरबहादुर देउवासँग यादव र नेपाल समेत आलोपालो प्रधानमन्त्री बन्ने समझदारी भित्री रुपमा गरेकै कारण जसपा नेपाल विभाजित भएको छ, अब दाहाल सरकारलाई जसपा नेपाल र एकीकृत समाजवादी पार्टी बाहेककै बहुमत पुग्ने भएकाले गर्दा माधव नेपालको वार्गेनिङ्ग पावर समेत समाप्त भएपछि माधव नेपालको समेत अहिलेकै संसदको कार्यकालमा प्रधानमन्त्री बन्ने सम्भावना लगभग समाप्त भएको छ ।
दाहाल सरकारलाई बहुमतमा रहिरहन एमालेका ७८, माओवादीका ३२, रास्वपाका २१ र अशोक राईले नेतृत्व गरेको जसपाका ७ गरी १ सय ३८ सांसद रहेका छन् । त्यसमा पनि नागरिक उन्मुक्ति पार्टीका २ जना सांसदको समर्थन रहने र ३ स्वतन्त्र सांसद मध्येका २ ले दाहाल सरकारलाई समर्थन जनाउने भएका छन् । यस्तो अवस्थामा नेपाली कांग्रेसको गठबन्धनमा कांग्रेसका ८९, राप्रपाका १४, माधव नेपालका १०, जसपा नेपालका ५, लोसपाका ४, जनमतका ६ र नागरिक उन्मुक्तिका २ गरी जम्मा १ सय २९ सांसदको मात्र समर्थन हुन सक्ने सम्भावना देखिएको भएपनि राप्रपाले अन्तिम समयमा काग्रेसलाई समर्थन गर्न सक्ने सम्भावना न्यून रहेको छ । राप्रपाले प्रदेशसभाहरुमा समेत सरकार बनाउन र ढाल्न कतै सहयोग नगरेर तटस्थ बस्ने गरेका हुनाले अहिलेकै अवस्थामा राप्रपाले कांग्रेस गठबन्धनलाई सहयोग गर्दछ भन्ने ग्यारेन्टी छैन ।
माधव नेपालले हालै आफ्नो पार्टीको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा समेत अहिलेको सत्ता गठबन्धन क्षणिक भएकाले गर्दा अर्को गठबन्धन बन्न सक्ने उल्लेख गरेका हुनाले र उनलाई कांग्रेसले अहिलेको गठबन्धन भत्काएर प्रधानमन्त्री बनाउने रणनीति लिएको भएपनि तत्काल त्यस्तो सम्भावना देखिएको छैन । रास्वपा सरकारबाट बाहिर गएपनि कांग्रेसको गठबन्धनमा ऊ सहभागि हुन सक्ने कुनै सम्भावना नै नरहेकाले गर्दा माधव नेपालको तत्काल प्रधानमन्त्री बन्ने सम्भावना देखिएको छैन ।
जसपा नेपाल विभाजित भएपछि माधव नेपाललाई समेत ठुलो झट्का लागेको छ । एक त आफ्नो वार्गेनिङ्ग पावर समाप्त भएको छ भने अर्कोतर्फ आफ्नै पार्टी समेत विभाजित हुन सक्ने भयमा माधव नेपाल रहेका छन् ।
आफ्नो समर्थन विपरित दाहाल सरकारलाई बहुमत पुग्ने भएकाले गर्दा आफ्नो पार्टीले पनि सरकार छोड्नुपर्ने हो कि भनेर डर नेपाललाई रहेको छ । कोशी प्रदेशमा नेकपा एमालेका नेता हिक्मत कार्कीलाई विश्वासको मत नदिने भन्दाभन्दै अन्तिम समयमा विशवासको मत दिनुको कारण हो सुदुरपश्चिममा आफ्नो पार्टीका मुख्यमन्त्रीलाई एमालेले मत देओस् भन्ने । कोशी प्रदेशमा एकीकृत समाजवादीले कार्कीलाई विश्वासको मत नदिएको भएपनि कार्कीसँग बहुमत पुग्थ्यो तर सुदुरपश्चिममा एमालेले मुख्यमन्त्री दीर्घराज सोडारीलाई मत नदिएको खण्डमा सोडारी सरकार ढल्छ त्यही कारणले गर्दा मात्र एकीकृत समाजवादीले कोशीमा कार्कीलाई विश्वासको मत दिएको हो ।
घाँटी हेरि हाड निल्नुपर्नेमा त्यसो नगरिएकै कारण जसपा नेपाल विभाजित भयो भने एकीकृत समाजवादीको हालत पनि त्यस्तै हुन सक्ने सम्भावना रहेको छ । प्रधानमन्त्री दाहालले कुनै पनि बेला एकीकृत समाजवादीका मन्त्रीहरुलाई राजिनामा दिन भने वा बर्खास्त गर्न सक्ने सम्भावना रहेको सूत्रले दाबी गरेको छ ।

footer