kumari
stcnepal

सभामुख घिमिरेको विश्वासको मत लिनुअघि संसद् सुचारु हुने अवस्था सिर्जना गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह

काठमाडौँ । सभामुख देवराज घिमिरेले विश्वासको मत लिनुअघि संसद् सुचारु हुने अवस्था सिर्जना गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् । शनिबार दिउँसो बालुवाटारमा भएको छलफलमा सभामुखले विपक्षी दललाई सौहार्द रूपमा संसद्मा उपस्थित हुने वातावरण बनाउन आग्रह गरेका हुन् ।

सभामुख घिमिरेले भने–‘प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिने भएपछि ६ गतेसम्म विपक्षी दललाई सौहार्द रूपमा सदनमा उपस्थित हुने वातावरण बनाउनुपर्‍यो भनेर प्रधानमन्त्रीज्यूलाई भनेको छु । अन्यथा विश्वासको मत लिने अवस्था अप्ठेरो हुन्छ भन्ने कुरा राखेको छु ।’ सभामुखको भनाइप्रति प्रधानमन्त्री प्रचण्डले सदनको वातावरण सहज बनाउनका लागि पहल गरिरहेको र विभिन्न पक्षसँग छलफल गरिरहेको धारणा राखेका थिए । प्रधानमन्त्रीले आजै सभामुखका सत्ता साझेदार दल एमाले, रास्वपाका साथै प्रमुख प्रतिपक्षी दल कांग्रेससँग छलफल गरेका छन् ।

सभामुख घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दल दुई पक्षबाटै आफ्नो अडानलाई बलियो बनाउने अवस्था देखिएको उल्लेख गर्दै यसरी अघि बढ्दा अप्ठेरो हुन्छ भनेर आफूले प्रतिपक्षका नेताहरू र सत्तापक्षका नेताहरूलाई ध्यानाकर्षण गराएको उल्लेख गरे । जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले यही जेठ ७ गते संसद्मा विश्वासको मत लिने तयारी गरेका छन् । तर प्रमुख प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्री रवि लामिछाने माथि सहकारीको रकम अपचलनको बारेमा संसदीय छानबिन समिति बनाउन माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ । प्रतिनिधि सभाको बैठक भोली आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

footer