kumari
stcnepal

पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार ललितपुर भ्रमणमा पुग्दा राजावादीहरूको शक्ति प्रदर्शनको तयारी

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार ललितपुर भ्रमणमा पुग्दा राजावादीहरूले शक्ति प्रदर्शनको तयारी गरेका छन् । उनको स्वागतका क्रममा राजावादीहरूले मोटरसाइकल र्‍यालीसहित शक्ति प्रदशर्नको तयारी गरेका हुन् ।

राप्रपाका केन्द्रीय सदस्य निरञ्जन थापाले हजारौँको सहभागितामा मोटरसाइकल र्‍याली निकाल्न लागिएको जानकारी दिए । मोटरसाइकल र्‍याली समन्वय समितिका संयोजक समेत रहेका उनले पूर्वराजाको भ्रमणलाई चुस्त बनाउन आवश्यक तयारी पनि पूरा भइसकेको जानकारी दिए । उनका अनुसार सोमबार दिउँसो र्‍याली साढे २ बजे कुपण्डोलस्थित हनुमानस्थान नजिकैबाट सुरु भएर हिमालयन होटेल, पाटन ढोका, चाकुपाट, इमुखेल चिलरेन्ड पार्क हुँदै नाग बहाल, धौगल, माहापाल चोकबाट मंगलबजार चोकमा पुग्नेछ ।

यस्तै पूर्वराजाको मन्दिर दर्शन सम्पन्न भएपछि पुनः मंगलबजार चोकबाट माहापाल , गाबाहल , पुल्चोक , जावलाखेल वीरेन्द्र सालिक हुँदै पुनः पुल्चोक भएर कुपण्डोलसम्म मोटरसाइकल र्‍याली पुग्ने उनको भनाइ छ । ऐतिहासिक तथा सांस्कृतिक महत्त्व र पहिचान बोकेको ललितपुरस्थित पाटनको विभिन्न धार्मिक क्षेत्रहरूमा पूर्वराजाले पूजा तथा अवलोकन गर्ने कार्यक्रम छ । जसअनुसार अपराह्न ४ बजे पुग्ने पूर्वराजाको स्वागतका लागि किरण प्रधानको संयोजकत्वमा १००१ एक सवारी व्यवस्थापन मूल समारोह समिति गठन गरिएको छ। यस्तै आवश्यक सुरक्षा प्रबन्ध मिलाउन तथा कार्यक्रममा उपस्थित जनसमुदायहरूको सहजताका निम्ति ४०० जना स्वयंसेवकहरू पनि परिचालन हुने जनाइएको छ ।

पूर्वराजा अपराह्न ४ बजे बङ्गलामुखी मन्दिर परिसरमा पुगेर करिब आधा घण्टा पूजा गर्नेछन् । त्यसपछि बङ्गलामुखी मन्दिरबाट हिरण्य वर्ण महाविहार पैदल जानेछन् भने हिरण्य वर्ण महाविहारमा पनि पूजाआजापछि उनी पाटनस्थित कृष्ण मन्दिरमा पदलै जानेछन् । कृष्ण मन्दिरको पूजा र प्रसाद ग्रहण पश्चात् उनी मंगलबजारबाट निवास फर्किने जनाइएको छ ।

footer