kumari
stcnepal

कांग्रेसका उपसभापति एव सांसद गुरूङले गृहमन्त्री लामिछानेलाई कारबाहि गर्न सभामुखलाई दिए निबेदन

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदको अवेहलनामा कारवाहीको माग गर्दै नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरूङले सभामुखलाई निवेदन दिएका छन् ।

गृहमन्त्री लामिछानेले संसदमा अर्थहीन र आधारहीन कुरा गरी कांग्रेस सांसदहरूको मानमर्दन गर्न खोजेको र उनको अभिव्यक्ति प्रतिनिधिसभा नियमावली विपरीत भएको भन्दै संसदको अवेहलनामा कारवाही गर्नुपर्ने गुरूङको माग छ । ‘प्रतिनिधि सभा नियमावालीको नियम २१९ मा सभाका सदस्यले पालना गर्नुपर्ने आचरण पनि निज गृहमन्त्रीले पालना नगरेकाले सोतर्फ समेत विचार गरी निजलाई संसदको अवहेलनामा कारवाही गर्न गम्भीर रूपले माग गर्दछु’, गुरूङले सभामुखलाई लेखेको निवेदनमा उल्लेख छ ।

गुरूङले निवेदनसँगै रातो कूटनीतिक राहदानी दुरुपयोग गरेको भन्ने आरोपको सम्बन्धमा सर्वोच्च अदालतले २४ असोज २०६४ मा गरेको फैसलाको प्रतिलिपि पनि संलग्न गरेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा गृहमन्त्री लामिछानेले नेपाली कांग्रेसका नेताहरुका विषयमा पनि आमसञ्चार माध्यममा विभिन्न समाचार प्रकाशित भएको भन्दै यी विषयमा पनि संसदीय छानबिन समिति बनाउने हो भनी प्रश्न गरेका थिए । उनले रातो पासपोर्ट दुरुपयोग, त्रिचन्द्र क्याम्पसमा बगैंचा निर्माणमा भ्रष्टाचार भएको, कृषि कार्यका लागि अनुदान लिएर अपचलन गरेकोलगायत आरोप कांग्रेसका सांसद माथि लागेको बताएका थिए । गुरूङले लामिछानेको उक्त भनाइले अदालत र संसदको समेत अवेहलना गरेको भन्दै कारवाहीको माग गरेका छन् । लामिछानेले अनैतिक र तथ्यहीन आरोप लगाएको भन्दै गुरुङले ती आरोपलाई पुष्टि गर्नुपर्ने र नभए उनीमाथि कारवाही हुनुपर्ने माग गरे ।

‘प्रतिनिधि सभाको रोष्ट्रमबाट अत्यहीन, आधारहीन कुरा गरी नेपाली कांग्रेसका प्रतिनिधि सभाका सदस्यहरूमाथि मानमर्दन गर्न खोजेको, हुँदै नभएको कुरालाई बढाइ चढाइ गरेर आम नागरिकलाई भ्रममा पार्न खोजेको, अदालतले गरेको फैसलामाथि धावा बोलेको अदालतको निर्णयको बर्खिलाप गरी अदालतको समेत अवहेलना गरेको, अदालतबाट सफाइ पाइसकेको रातो कूटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी आम नागरिकबीच भ्रम र्सजना गर्न खोजेको, आफूलाई अदालतभन्दा माथि राखी अभिव्यक्ति दिएको’, गुरूङले निवेदनमा उल्लेख गरेका छन् । सहकारी प्रकरणमा लामिछानेमाथि अनुसन्धान गर्नका लागि संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित कांग्रेसले संसद अवरोध गरिरहेको थियो । आइतबार लामिछानेले संसदमा बोल्ने अवसर पाएका थिए । सोही क्रममा उनले बोलेको विषयमा कांग्रेसले सार्वजनिक रूपमै आपत्ति जनाएको थियो ।

footer