kumari
stcnepal

जसपा नेपालले तोक्यो केन्दीय समिति निर्वाचनको मिति

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको निर्वाचन मिति तय गरेको छ । जसपाले आगामी जेठ ३० गते निर्वाचन गर्न लागेको हो । बुधबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै जसपा नेपालले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिको निर्वाचन कार्यतालिका तयार पारेको जानकारी दिएको हो ।

केन्द्रीय निर्वाचन तदर्थ समितिको कार्यतालिकाअनुसार जेठ २८ गते दिनको १ बजे मतदाताको नामावली प्रकाशित हुनेछ । जेठ २९ गते बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन १२ बजेदेखि २ बजेसम्म मनोनयपत्र माथि पर्ने दाबी विरोध दर्ता गर्ने र जाँचबुझ गरी त्यसैदिन ४ बजेसम्म निर्णय गरिसक्ने जसपाले जनाएको छ ।

त्यसपछि २९ गते नै उम्मेदवारको नामावली साँझ ५ बजेसम्म प्रकाशित गर्ने, ५ देखि ८ बजेसम्म मनोनयन फिर्ता लिने समय तोकिएको कार्यतालिकामा उल्लेख छ । जेठ २९ गते राति ८ बजेदेखि १० बजेभित्रमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी जेठ ३० गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन गर्ने जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रीय समितिको निर्वाचन सम्पन्न भएपछि सबै पदको मतगणणा सुरु हुने छ ।

footer