kumari
stcnepal

केपी ओली र महेश बस्नेत मिलेर मलाई ज्यान मार्ने उद्योगमा फसाउन ‘मास्टर प्लान’ बनाए : दुर्गा प्रसाईं

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेत मिलेर आफूलाई ज्यान मार्ने उद्योगमा फसाउने ‘मास्टर प्लान’ बनाएको आरोप लगाएका छन् । एमालेको भ्रातृसंस्था राष्ट्रिय युवा संघ नेपालकी केन्द्रीय सदस्य समेत रहेकी दुर्गा पाठकलाई अध्यक्ष ओली र बस्नेतको मिलेमतोमा आफूविरुद्ध उकासेर भिडियो बनाउन लगाएर फसाउन खोजिएको प्रसाईको दाबी छ । शनिबार पत्रकार सम्मेलनमा प्रसाईंले आफू विरुद्ध सिङ्गो एमाले लागेको आरोप मात्र लगाएनन् युवा संघका इन्चार्ज बस्नेत मुछिएको यौन हिंसा प्रकरणमा आफूलाई फसाउनकै लागि दुर्गा पाठकलाई भिडियो बनाउन लगाएको बताएका छन् ।

‘म मङ्सिर सात गते आन्दोलन गरिसकेपछि आफ्नो बाटोमा हिँडेको थिएँ । तर, बिचमा महेश बस्नेत, केपी ओली र एमालेको डिजाइनमा ठुलो षड्यन्त्र बनाएका रहेछन् ।’ उनले भने, ‘दुर्गा पाठकलाई बस्नेतका कार्यकर्ताले पीडितलाई मरे भने दुर्गा प्रसाईं र सरकारले जिम्मेवारी लिनुपर्छ भनेर भिडियो खिचेको रहेछ । यो गर्न खोजेको के हो ? केपी ओली र शंकर पोखरेलहरूले राजनीतिक प्रशिक्षण दिँदा एमाले पार्टी कार्यकर्तालाई यस्तै सिकाउँछन् ? उहाँलाई भिडियो बनाउन लगाएर दिनैपिच्छे मार्न खोज्दा रहेछन् । उहाँ मरेपछि म फसे नि त, मलाई फसाउन यत्रो षड्यन्त्र गर्नुपर्ने ?’ प्रसाईंले प्रश्न गरेका छन् । पाठकलाई अब सुरक्षा आफूले दिने घोषणा गरेका प्रसाईंले ओली, बस्नेत र सिङ्गो एमालेलाई आफूसँग नठोकिन चेतावनी दिएका छन् । आफूले भिडियो पाएपछि प्रहरी महानिरीक्षकलाई समेत पठाएको चर्चा गर्दै प्रसाईंले ओलीलाई कार्यकर्तालाई सम्झाउन सुझाव दिए । नभए ओली महेश बस्नेत, निर्भयबाबु प्रसाई, बब्लु गुप्ता विरुद्ध मुद्दा हाल्ने चेतावनी पनि दिए ।

यस्तै, पीडित भनिएकी युवा संघ नेपालकी केन्द्रीय सदस्य दुर्गा पाठकले आफूलाई महेश बस्नेतले शोषण गरेको दाबी गरेकी छन् । उनले पछिल्लो समय बस्नेत र उनको सम्बन्ध बाहिर आएपछि प्रसाईंलाई फसाउन आफूलाई धम्क्याएर बस्नेतका मान्छेले भिडियो बनाएको र त्यसकै आधारमा ब्ल्याकमेल गरेको बताइन् ।पत्रकार सम्मेलनमा उपस्थित पाठकले भनिन्, ‘म यहाँ आज आउनुको कारण भनेको दुर्गा दाइ नफसुन् भनेर नै हो । म आफैँ संवेदनशील अवस्थामा छु र यिनीहरू सबै मिलेर मलाई मार्न खोजिरहेका छन् ।’ पाठकले थपिन्, ‘केही समय अगाडि महेश बस्नेत र नवीन बस्नेत मिलेर पेप्सिकोलाको कोरिडोरमा एउटा डिपार्टमेन्ट स्टोर छ त्यहाँ बोलाएर मलाई चिट लेखेर दिए र मलाई बोल्न लगाएर भिडियो बनाए । महेश बस्नेतसँगको सम्बन्ध मेरो केही पनि होइन, यो सबै फोटोहरू एआईबाट बनाइएको हो र म मरे भनेँ दुर्गा प्रसाईं र नेपाल सरकारले जिम्मा लिनुपर्नेछ भनेर बोल्न लगाइयो । आफूलाई मार्छन् भन्ने डरले बाध्य भएर भिडियोमा मैले बोलेको हो ।’

पाठकले बब्लु गुप्ता भन्ने व्यक्तिले भिडियो बनाएको दाबी गरेकी छन् । पछिल्लो समय मिडियामा पनि गएकी उनी प्रहरीले आफूलाई बस्नेतको पावरकै कारण सहयोग नगरेको आरोप लगाएकी छन् । प्रसाईंले सहकारी ठगीमा सबैभन्दा धेरै एमालेका मान्छे रहेकाले एमाले छानबिन गर्न डराएको आरोप लगाएका छन् ।प्रसाईंले भने, ‘सहकारीमा रास्वपा भनेको २ प्रतिशत हो, ३३ प्रतिशत कांग्रेस र ७० प्रतिशत सहकारीमा ठग्ने एमाले हो । किन आज सहकारीको छानबिन हुँदैन भन्दा एमालेले हुन दिँदैन । जिबी राई एमालेको मान्छे हो । सिबी लामा भनेको कांग्रेसको मान्छे हो, उसले संसद्मा टिकट दिन लागेको मान्छे हो । सबै पार्टीभित्रका मान्छे मिलेर सहकारीको पैसा लुटेर खाए । ’

footer