kumari
stcnepal

सत्तामा नै रहेर विपक्षी दलसँग जोडिए माधव नेपाल. के नेपालले सरकार छोडन लागेका हुन त ?

नेपाली कांग्रेस सहितका विपक्षी दलहरू मधेस प्रदेशबाट नयाँ समीकरणको कसरतमा जुटेका छन्। सहकारी ठगीमा छानबिन गर्न मंगलबारको प्रतिनिधिसभा बैठकले संसदीय समिति गठन गरेको भोलिपल्ट प्रमुख प्रतिपक्षी कांग्रेसले विपक्षी दलहरूसँगको संवाद अघि बढाएको हो। कांग्रेस सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का शीर्ष नेताबीच छलफल भएको छ। नेकपा एकीकृत सत्तारुढ दल हो। देउवानिवासमा भएको छलफलमा जसपा नेतृत्वमा रहेको मधेस प्रदेश सरकारलाई निरन्तरता दिन नेताहरूबीच समझदारी बनेको स्रोतको दाबी छ।

यादव नेतृत्व जसपाबाट अशोक राईसहितका नेताहरू अलग भएसँगै मधेस प्रदेश सरकारबाट माओवादी केन्द्र र एमाले अलग भएका छन्। माओवादी र एमाले सरकारबाट अलग भएसँगै जसपा नेता सरोज यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ। चार दलका शीर्ष नेता सहभागी बैठकमा मधेस प्रदेशको वर्तमान सरकारलाई निरन्तरता दिने समझदारी भएको सहभागी एक नेताको दाबी छ। मधेसमा २३ सांसदसहित एमाले पहिलो दल छ भने कांग्रेसका २२, जसपाका १६, जनमतका १३, लोसपाका ९, माओवादीका ८ र नेकपा एसका ७ सांसद छन्। १ सय ७ सदस्यीय मधेस प्रदेशसभामा सरकार बनाउन ५४ सांसदको समर्थन चाहिन्छ। मधेस प्रदेशसँगै बैठकमा गण्डकी र सुदूरपश्चिम सरकारका विषयमा पनि नेताहरूबीच छलफल भएको छ। नेकपा एसको नेतृत्वमा गठन भएको सुदूरपश्चिम सरकारको आयु अनिश्चित जस्तै छ। सत्ता गठबन्धनमै रहे पनि एमालेले नेकपा एसलाई साथै लिएर अघि बढ्न नचाहेको निकट स्रोतको दाबी छ। संघीय सरकारबाट नेकपा एसलाई हटाउन प्रधानमन्त्री पुष्पकमल दाहालमाथि एमालेबाट दबाब पर्दै आएको निकटहरूको दाबी छ।

संघीय संसद्बाट बजेट पारितलगत्तै नेकपा एसलाई सरकारबाट हटाएर जनमत र नागरिक उन्मुक्ति पार्टीलाई सहभागी गराउने एमाले अध्यक्ष केपी शर्मा ओलीको योजना छ। त्यसमा प्रधानमन्त्री दाहाल राजी भएको स्रोतको दाबी छ। एमाले र माओवादीबाट एक/एक मन्त्री फिर्ता बोलाएर प्रभु साहसहितलाई सरकारमा सहभागी गराउने गृहकार्य सुरु भएको निकट स्रोतको दाबी छ। एमाले दबाबमा प्रधानमन्त्री दाहाल पर्दै गएका बेला सरकारमै सहभागी नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि विपक्षी गठबन्धनमा सहभागी भएका छन्। विपक्षमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीसहितको बैठक बसेर सत्ता, सरकार, संसद्सहितका विषयमा छलफल गर्दै अघि बढ्ने समझदारी बनेको निकट स्रोतको दाबी छ।

बैठकपछि जसपा अध्यक्ष उपेन्द्र यादवले भने, ‘अहिले भइरहेको समसामयिक राजनीतिक परिप्रेक्ष्यमा प्रतिपक्षी राजनीतिक दलहरू एक हुने सहमति नै छ। भेटमा मधेस सरकारको विषय पनि उठ्यो। त्यहाँ पनि हामी एक ठाउँमा हुन्छौं।’

footer