kumari
stcnepal

गणतन्त्र दिवस हो कि राज्यको गाईजात्रा ?

 

राजन कार्की
१६औं गणतन्त्र दिवस पनि सत्ताको गाईजात्रा जस्तो देखियो ।
गणतन्त्र दिवसमा गण थिएनन्, राज्यका कर्मचारी, शासक र केही राज्यले जोरजबरजस्ती ल्याएकाहरुमात्र थिए । राज्यले टुँडिखेलको सैनिक मञ्चबाट गणतन्त्र दिवसको झ्याली पिट्यो, राज्य सञ्जालमा दीपावली गरेको फुइँकी लगायो ।
यो कस्तो लोकतन्त्र दिवस हो, जहाँ लोकले लोकतन्त्रलाई अपनत्व ग्रहण गरेकै छैनन् । संविधान असफल भइसक्यो । संवैधानिक निकायहरु प्रभावकारी छैनन् । आमनागरिक घूस नख्वाई सेवा लिन सक्दैनन् । राज्यका अङ्ग प्रत्यङ्ग भ्रष्टाचारले यलित छ, फतफती गलेर झर्ने स्थितिमा पुगिसकेका छन् । तैपनि सत्तामा बस्नेहरु गणतन्त्र दिवस जिन्दावाद भन्छन् । सडकमा नागरिक गणतन्त्रको शब बोकेर प्रतिकात्मक दाहसंस्कार गरिरहेका देखिन्छन् ।
२०६३ बैशाख ११ गते जनआन्दोलन सफल हुने दिन जे सहमति भयो, त्यसलाई कुल्चेर अघि बढ्ने नेताहरुको अहंकार आजसम्म निस्तेज भएको छैन । देश लथालिङ्ग भइसक्यो, पूर्वराजाले पटक पटक मिलेर राष्ट्रिय समस्या समाधान गर्न आग्रह गर्दा पनि अहंकारीहरुको अहंकार घटेन । हामाी नै लोकतन्त्र हौं भनेर भन्ने हो भने शासक प्रशासकहरु सफल छन् । विश्व इतिहासमा नेपाल भ्रष्ट मुलुक भनेर चिनिएको छ । दण्डहीन मुलुक भनेर बदनाम छ । नेताहरु गैरजिम्मेवार छन् भनेर मानिएका छन् । यस्ता नेताहरुले लोकतन्त्र सफल भयो भन्नु आकाशतिर फर्केर थुक्नुजस्तै हो ।
थिति कतै पनि छैन, बेथिति सर्वत्र छ । राज्यसञ्जाल ध्वस्त भइसक्यो । संवैधानिक निकायहरु असफल भइसके । संविधन काजगको खोस्तो बनिसक्यो । निषेध र विभेद बढेर सुरसको मुख भइसक्दा पनि अहंकार नघट्नु भनेको कुनै पनि बेला ठूलै दुर्घटना हुनसक्ने धराप हो । सत्ता शक्ति र सम्पत्तिले अन्धो बनेकाहरु अझै पनि अहंकार प्रदर्शन गरिरहेका छन् । नेतृत्वको अहंकारले देश खगारिएर खरानी हुने खतरा बढ्दै गएको छ ।
सन्तुष्टि कतै छन् । कुनै नेताप्रति जनताको आदर सम्मान छैन । सडकमा असरल्ल छन् जनता । कुनै नागरिक सन्तुष्ट छैनन् । आम जनता बिद्रोहको मूडमा पुगिसके । देशका हरेक क्षेत्रमा पूर्वराजालाई जनआग्रह बढिरहेको छ– राजा आउ देश बचाउको नारा लागिरहेको छ । यिनले चलाएको संघीयता भ्रष्टाचारको पोखरी बनिसक्यो । यिनले हाँकेको लोकतान्त्रिक गणतन्त्र संसददेखि सडकसम्म, विधिदेखि व्यवहारसम्म नाङ्गै भइसक्यो । तैपनि यिनको अहंकार घटेको छैन । यिनीहरु सत्ताको बलमा लोकतन्त्र जिन्दावाद भनेर हिडिरहेका छन् । यिनलाई जनताले घृणा गरेका छन् भन्ने थाहा छ तर जनतालाई भ्रमित पारेर सत्ता चलाउन सकिन्छ भन्ने विश्वास छ । कुन दिन जनताले बिद्रोह गर्छन्, त्यो दिन यिनको परिणति के होला ?
अािर्थक रुपमा देश टाट पल्टिसकेको छ । जनताले राखेको निक्षेपसमेत फिर्ता पाउनसक्ने अवस्था छैन । १८ खर्बको बजेट, १४ खर्बको ब्यापार घाटा, २४ खर्बको ऋणभार । जनताको ज्यान र बचतसमेतको सुरक्षा छैन । देश कङ्गाल भइसक्यो । युवा निकासी गरेर र रेमिटानसले कतिञ्जेल धान्ने यिनको भ्रष्ट चरित्र र खन्चुवा मनोबृत्तिलाई पत्तै छैन । आज बाँचौ, भोलि देखा जायगा भनेर नेतृत्व पंक्ति अझै पनि लुट्न र सत्ताको दुरुपयोग गर्न व्यस्त छ ।
जनता बिचलित छन् । नेतृत्व स्वार्थमा स्थिर । सत्ता र शक्तिको अहंकारले राजनीतिलाई अन्धो बनाइदियो । सामाजिक मान्यता, सभ्यता र शिष्टता, जिम्मेवारी र जवाफदेहीताको अन्त भएकै म बाद हावी भएर हो । जो शासन प्रशासक छन्, तिनलाई जन्मेपछि मुर्नपर्छ, मर्दा केही जाँदैन, नाम राख्नुपर्छ, सुकीर्ति जोगाउनुपर्छ भन्ने ज्ञान दिने कोही छैन । बुद्धिजीवी र नागरिक समाज समेत मौन बसेको छ । जबसम्म मानिस विवेकले चल्दैन र अहंकारले चल्छ, यिनको उल्टो बुद्धिले देश र जनताको शोषणमात्र हुने हो । वर्तमान नेपाली राजनीति अविवेकी बनेको छ । यिनलाई जनता र देशप्रति कत्ति पनि चिन्ता र चासो छैन ।
देशमा लोकतान्त्रिक गणतन्त्र गाईजात्रा बन्यो । गाईजात्रा भनेको क्षणिक रमाइलो हो । जो गाईजात्रामा सहभागी हुन्छन्, तिनीहरु बितेका पितृ तार्ने विश्वासमा हुन्छन् । जो गाईजात्रा हेर्छन्, तिनहरु क्षणिक रमाइलोमा भुल्छन् । शासक र प्रशासकहरु ओरत्र र परत्र दुबैलाई सुखी र खुशी पार्न होइन, आफू तर मार्न पल्केका छन् । यसतो गाईजात्राले देश बर्बादमात्र हुन्छ ।
देशमा यतिबेला विवेक मरेको अवस्था छ । विवेक मर्दा लोकतन्त्र मरेको छ । लोकतन्त्रलाई जिवन्त राख्न लोकको मानसिकता जिउँदो हुनुपर्छ भन्ने हेक्का राख्ने कोही छैनन् । राष्ट्र र अस्तित्व मर्दै जान थालेको अनुभूति हुँदैछ । मरेको लोकतन्त्रले बाँचेका देश र जनतालाई पनि गाल्दैछ, मार्दैछ ।
लोकनेतत्वमा लोकलज्जा रहेन । लोकतन्त्र चल्ने लोकलज्जाले हो । समाजिक मान्यता र परम्पराकै बलामा बेलायत चलिरहेको छ । बेलायतको लोकतन्त्र विश्वप्रशिद्ध छ । लोकतन्त्रमा लोकले के भन्लान् भन्ने भय हुनुपर्छ । यही भयका कारण नेतृत्व भयभित हुन्छ, सही काममात्र गर्छ । गलत निर्णय भएको आलोचना हुनासाथ नेतृत्वले आफैलाई नैतिकताको कसीमा घोट्छ । नेपालमा त जति अपराध ग¥यो उति राजनीतिक योग्यता बढ्ने परम्परा पो बस्न पुग्यो । लाटो देशमा गाँडो तन्नेरी भनेको यही हो ।
नेतृत्वमा विवेक म¥यो । राजनीति अपराध भयो । यिनीहरुबाट नीति, नियम, नैतिकता, निष्ठा स्वार्थको बलिवेदीमा चढाएर लोकतन्त्र चलाइन्छ, त्यहाँ बेथिति र बिकृतिमात्र हुनेगर्छ । नेपाल यस्तै बिकृतिको कन्टेनर बनेको छ । फोहरमा बाँच्ने फोहरी किरामात्र हो । स्वच्छता फोहरमा बाँच्नै सक्देन । नेपालको लोकतन्त्र फोहरमा निसास्सिन थालिसकेको छ । आमनागरिक यसकारण यो पद्धति, यी नेताप्रति घृणाभाव राख्छन्, यहाँसम्म कि कुनै नेता आयो भने कुन चोर आएछ भन्ने अवस्थामा पुगिसकेका छन् । नेतृत्वले राजनीतिक धर्म मास्यो ।
नैतिकहीनहरुमा नैतिकता छैन । जवाफदेहीता शासक प्रशासककै हो । तर नेतृत्वपंक्ति सच्चिन तैयार छैन । लोकतन्त्र जतिसुकै बदनाम होस्, देशमा जतिसुकै बिकृति फैलियोस्, आफ्नो स्वार्थ सुरक्षित हुनुपर्छ भन्ने ठान्छन् नेतृत्व ।्
लोकतन्त्र छ, लोकतान्त्रिक चरित्र छैन । अहंकारभन्दा पर प्रणाली छैन, समाज छैन, विधियुक्त लोकतन्त्र छैन, लोकलज्जा हुने कुरै भएन । लोकतन्त्र नेपालमा जंगलराज चलिरहेको छ । जंगलराजमा मत्स्य न्याय हुन्छ, समानता हुँदैन । विधि पनि हुँदैन ।
बिधिको नाममा ब्यभिचार छ । नेतृत्वमा जे छ सत्ता छ, सत्ता स्वार्थ छ । यिनका सत्ता, शक्ति र सम्पत्तिको स्वार्थका कारणले शान्ति र समृद्ध देश बनाउने सपना तुहियो । संविधान असफल भयो । नेतृत्व असफल भए । जनविद्रोह गर्नुपर्ने दिन आयो । जनताले बिद्रोह गरेनन् भने देश असफल राष्ट्र बन्ने खतरा सन्निकट भएर गयो । अब जाग्नुपर्ने बेला भयो, अस्तित्व रक्षा गर्ने कि मर्ने ?
यो अवस्था आउनुमा नेता जिम्मेवार छन् । राजनीतिमा राजनीति छैन, माफियाकरण छ । सुशासनको झल्कासम्म पनि छैन ।
जनताले खबरदारी गर्नुपर्छ । राजनीतिलाई समाज बदल्ने थिति कसरी बनाउने ? खरी घस्नुपर्छ । जनताले घृणामात्र गरेर पुगेन । गलतलाई गलत भन्न र गलत गर्नेलाई दण्ड पनि दिनुपर्छ ।
ता कि लोकतन्त्र रहोस्, नेतृत्वको अहंकारले देश अन्धकारमय नहोस् ।
गणतन्त्र दिवसलाई गाईजात्राजस्तो प्रहसनको विषयमात्र बन्न दिनुभएन । गाईजात्रामा पनि जिम्मेवारी हुन्छ, बितेको र वर्तमान पुस्ताप्रतिको जिम्मेवारी हुन्छ । यसरी राज्यशक्तिको दुरुपयोग गरेर भोजभत्तेर रमाईलो गर्ने छुट सत्तामा बस्नेहरुलाई दिनुहुाँ । यस्तो देखावटी गाईजात्राको अब अन्त्य हुनुपर्छ ।

 

footer