kumari
stcnepal

काठमाडौं महानगरको सार्वजनिक शौचालय प्रयोगकर्तासँग शुल्क नलिन सञ्चालक तथा व्यवस्थापकलाई अनुरोध

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय प्रयोगकर्तासँग शुल्क नलिन सञ्चालक तथा व्यवस्थापकलाई अनुरोध गरेको छ ।

महानगरपालिकाले सूचना जारी गरी सार्वजनिक उपयोगमा रहने गरी निर्माण गरिएका तथा सञ्चालनमा रहेका सार्वजनिक शौचालयहरुमा सेवाग्राहीसँग कुनै शुल्क नलिने व्यवस्था गर्न भनेको हो । यो व्यवस्था १५ दिनपछि पूर्णरुपमा कार्यान्वयनमा ल्याउने महानगरको तयारी छ ।

हाल काठमाडौं उपत्यकाभित्र सञ्चालित सार्वजनिक शौचालय प्रयोग गरेवाफत् सेवाग्राहीले कम्तिमा ५ देखि १० रुपैयाँसम्म बुझाउनुपर्ने बाध्यता छ । निःशुल्क रुपमा सञ्चालित सार्वजनिक शौचालयका लागि काठमाडौं महानगरपालिकाले आवश्यकताअनुसार जनशक्ति, सामग्री, मर्मतसम्भार र सरसफाइ सहयोग उपलब्ध गराउँदै आएको छ । सेवाग्राहीसँग शुल्क लिई सञ्चालन गरिरहेका सार्वजनिक शौचालयका सञ्चालक र व्यवस्थापकहरुलाई आज जेठ १८ गतेदेखि १५ दिनभित्र महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइमा लिखित प्रस्ताव पेश गर्न पनि भनिएको छ ।

सो समयअवधि पश्चात् महानगरपालिका भित्रका सबै सार्वजनिक शौचालयहरु निःशुल्क सञ्चालन गर्नुपर्ने महानगरपालिकाले जनाएको छ । सूचना विपरीत सार्वजनिक शौचालय प्रयोग बापत कुनै प्रकारको शुल्क असुल गरेमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने महानगरपालिकाले चेतावनी समेत दिएको छ ।

footer