kumari
stcnepal

कोशी प्रदेशमा आज सरकारको निति तथा कार्यक्रम सार्वजनिक हुदैँ, कांग्रेस पनि सहभागी हुने

आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत हुने कोशी प्रदेश सभाको बैठकमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ । निरन्तर प्रदेश सभाको बैठक बहिस्कार गर्दै आएको कांग्रेस सोमबारको प्रदेश सभाको बैठकमा भने सहभागी हुने भएको हो । प्रदेश सभा सचिवालयका सूचना अधिकारी निरोज ढकालका अनुसार कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सोमबार अपरान्ह ४ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

आजदेखि प्रदेश सभा बैठकमा सहभागी हुने नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले बताए । ‘प्रतिनिधि सभामा पनि हाम्रो विरोध थियो,’ थापाले भने ‘त्यसकै विरोधस्वरूप हामीले यहाँ बहिस्कार गरेका थियौं ।’ प्रतिनिधि सभामा अवरोध हटेकाले प्रदेश सभाको बैठकमा सहभागी हुने उनको भनाइ छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने दिन र सरकारको नीति तथा कार्यक्रमको प्राथमिकता सार्वजनिक गर्ने प्रयोजनका लागि बोलाइएको दुवै बैठक कांग्रेसले बहिस्कार गरेको थियो ।

नयाँ सरकार गठनको प्रक्रियाप्रति असहमति जनाउँदै कांग्रेसले बैठक बहिष्कार गरेको थियो । दुई वटा बैठकसम्म सांसदलाई रोकेको कांग्रेस तेस्रो बैठकमा सहभागी बन्न लागेको हो ।​ केही दिन अगाडि बसेको कांग्रेस संसदीय दलको बैठकमा प्रदेश सभाको बैठकमा सहभागी हुने कि नहुने भनेर विवाद हुने देखिएपछि सभापति शेरबहादुर देउवाले विवाद मिलाउन केन्द्रीय सदस्यलाई नै पठाएका थिए । सो बैठकमा १६ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेरै बैठकमा सहभागी हुने जनाएका थिए । ‘बैठकमा २४ जना सहभागी थियौं,’ एक प्रदेश सभा सदस्यले भने, ‘त्यसमध्ये १६ जनाले हस्ताक्षरसहितको पत्र बुझाएपछि थामथुम पारेर राखिएको थियो ।’

पार्टी भित्रको आन्तरिक समस्या कै कारण दुई वटा बैठकमा सहभागी नभएको संसदीय दलका नेता थापाको भनाइ छ । हिक्मत कार्की वैशाख २७ गते नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । त्यसपछि निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई बर्खास्त नगरी नयाँ सरकार गठन गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यो मुद्दा विचारधारा अवस्थामा रहेको छ । हिजो बसेको कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकले पनि नीति तथा कार्यक्रम पास गरिसकेको छ ।

footer