kumari
stcnepal

एकीकृत समाजवादीका अध्यक्ष नेपालले सचिवालय बैठक बोलाए

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सचिवालय बैठक बोलाएका छन् । सोमबार दिउँसो साढे १२ बजे बस्नेरी सचिवालय बैठक बोलाएको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिएका हुन् ।

उनका अनुसार सचिवालय बैठकमा महाधिवेशनको तयारी लगायत समसामयिक विषयमा छलफल हुनेछ । सचिवालय बैठकले सम्भवतः आजै मधेस प्रदेशका मन्त्रीहरू फिर्ता बोलाउनेछ । मधेसका मुख्यमन्त्री सरोज यादव अल्पमतमा परेपछि त्यहाँ नयाँ सरकार गठनको तयारी छ । नयाँ सरकार जनमत पार्टीको नेतृत्वमा गठन गर्ने सत्तारुढ दलको तयारी छ । मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिँदैछन् ।

त्यसअघि नै एमाले, माओवादी, जसपा, जनमत लगायतका दलले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको ध्यानाकर्षण गराउने तयारी गरेका छन् । त्यसका लागि एकीकृत समाजवादीलाई सरकारबाट फिर्ता हुन एमाले माओवादीले आग्रह गरिरहेका छन् । तर एकीकृत समाजवादीले नयाँ सरकार गठन गर्दा आफ्नो सम्मानजनक उपस्थितिको सुनिश्चितता खोजिरहेको छ ।

 

footer