kumari
stcnepal

समितिको बैठकमा एनजिओको खाजा, गृहमन्त्री लामिछानेले गरे बैठक बहिष्कार

काठमाडौं । गैरसरकारी संस्था (एनजीओ)का कर्मचारी खाजासहित उपस्थित भएपछि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ ।

समितिका सदस्य हृदयराम थानीका अनुसार बिहान ८ बजे बोलाइएको बैठकमा उनी केही मिनेट ढिला पुगेका थिए । ‘म चार मिनेट जति ढिलो पुगेको थिएँ । जाँदा टेबुलमा काँटा चम्चा देखेँ । के हो यस्तो भनेर सुरुमा मैले नै कुरा उठाएँ,’ सांसद थानीले भने । समितिमा ‘भीआईपी खाजा’ पक्कै कसैले स्पोन्सर गरेको होला भनेर आफूले जिज्ञासा राखेको, त्यमसा अन्य सांसदहरू समेतले चासो राखेको र छलफलका क्रममा एनजीओको कर्मचारीसमेत सभा कक्षभित्रै रहेको थाहा भएको उनले जानकारी दिए ।

छलफलमा सांसदहरूले समितिमै एनजीओका कर्मचारी खाजासहित उपस्थित हुने विषयले ठूलो अर्थ राख्ने भएकाले यसरी जनताको हित केन्द्रित रहेर कानुन बनाउन नसकिने बताए । बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि उपस्थित थिए । गृहमन्त्री लामिछानेले एनजीओको खाजा खाएर कानुन बनाउने विषय उचित नरहेको बताए । आफू यस्तो छलफलमा नरहने भन्दै गृहमन्त्री लामिछाने बाहिरिए । त्यसपछि केहीबेर समिति सदस्यहरू आन्तरिक छलफलमा रहे । तर बैठक औपचारिकतामा प्रवेश नै गर्न सकेन ।

‘एनजीओको खाजा खाएर विधेयकमाथि छलफल गर्ने कुरा राम्रो हुँदैन, यसले राम्रो सन्देश जाँदैन । साथै गृहमन्त्री समेत नरहेको अवस्थामा समितिको बैठक बस्न नहुने कुरा राखियो । त्यसपछि बैठक स्थगित भयो’ सांसद थानीले भने । समितिको आइतबारको बैठकमा संघीय निजामती ऐन संशोधन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । तर बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन । सांसदहरूका अनुसार एनजीओका प्रतिनिधिलाई आजको बैठकमा बोलाइएका कारण उनीहरू उपस्थित भएका थिए ।

footer