kumari
stcnepal

पशुपतिको भेटी चोरीका आरोपितहरूलाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश

काठमाडौं । पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका ६ मध्ये पाँचजनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

बुधबार जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले थुनछेक बहसपछि पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरे, सञ्जय कपाली, कुमार दमाई र अनिल परियारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । ५१ वर्षीय नवराज ढोडारी काभ्रे नमोबुद्ध नगरपालिका घर भई पशुपति क्षेत्र विकास कोषमा नायबसुब्बा पदमा कार्यरत हुनुहुन्थो । ३६ वर्षीय नवराज घिमिरे ब्राह्मण हुनुहुन्थो भने उहाँ काठमाडौं–६ बस्दै आउनुभएको थियो ।

यस्तै, कोषका बाजा बजाउने कर्मचारीहरु भक्तपुर मध्यपुर ठिमी नगरपालिका– १२ का २९ वर्षीय सञ्जय कपाली, कागेश्वरी मनोहरा– ८ बस्ने ३४ वर्षीय अनिल परियार, कागेश्वरी मनोहरा–९ बस्ने ३५ वर्षीय कुमार दमाई परियारलाई पनि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । काठमाडौं–८ का ५५ वर्षीय सत्यनारायण जोशीलाई भने अदालतले तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

गत जेठ ७ गते पशुपतिनाथको भेटी चोरी गरेको सीसीटीभी फुटेजमा देखिएपछि उहाँहरुलाई पक्राउ गरी प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान गरिएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले ६ जनाविरुद्ध दुई करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरेर डाँका–चोरी मुद्दा दर्ता गरेको छ । भेटी चोरी गर्ने समूहलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवानाको माग दाबी गरिएको छ ।

footer