kumari
stcnepal

भारतका लागि रेग्मी र अमेरिकाका लागि घिमिरे सहित ८ राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, अमेरिका र बेलायत सहित ८ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले भारतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, अमेरिकाका लागि चन्द्र घिमिरे र बेलायतका लागि डा. विजन पन्त सिफारिस गर्ने निर्णय गरेको हो ।

पूर्व मुख्यसचिव रेग्मीलाई केपी शर्मा ओली नेतृत्वको सरकारले बेलायतका लागि राजदूत बनाएको थियो । शंकरदास बैरागीलाई मुख्य सचिव बनाउन बाटो खोल्दै राजीनामा दिएपछि ओली सरकारले राजदूत बनाएको थियो । २०७७ माघमा राजदूत नियुक्त भएका उनलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले असोज २०७८ मा फिर्ता बोलायो । कार्यकाल पूरा नहुँदै फिर्ता बोलाइएका उनलाई अहिले एमालेको कोटाबाट भारतका लागि राजदूत सिफारिस गरिएको स्रोतले जानकारी दियो । अमेरिकाका लागि नेपाली राजदूत सिफारिस भएका चन्द्र घिमिरे पूर्वसचिव हुन् । रेग्मीले मुख्य सचिवको कार्यकाल पूरा गरेको भए बैरागीको साटो घिमिरे (केदारबहादुर अधिकारीपछि) मुख्यसचिव हुने थिए । उनी विवादमा नपरेका र तुलनात्मक रूपमा क्षमतावान सचिव मानिन्थे । तर राजदूत हुने गरी रेग्मीले राजीनामा दिँदा परराष्ट्र सचिव रहेका बैरागीले मुख्यसचिव बन्ने मौका पाए ।

अनि केदारबहादुर र चन्द्र घिमिरेले सचिवबाट अवकास पाए । त्यही कारण अहिले उनलाई अमेरिकाका लागि राजदूत बनाइएको एमाले निकट स्रोत बताउँछन् ।बेलायतका लागि राजदूतमा सिफारिस डा. विजन पन्त सुशील कोइराला प्रधानमन्त्री भएको बेला विकास सल्लाहकार थिए । गोरखाका पन्त अहिले सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रको कोटाबाट राजदूत सिफारिस भएका हुन् । यस्तै दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, स्पेनका लागि पुष्पराज रञ्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि नेपाली राजदूतमा अबुसुफ्यान खान सिफारिस भएका छन् ।

मानवअधिकारकर्मी समेत रहेका प्याकुरेल तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको विज्ञ सल्लाहकार थिए । तत्कालीन नेकपाले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि उनले राजीनामा दिएका थिए ।डेनमार्कका लागि राजदूत सिफारिस भएकी सुम्निमा, पद्मरत्न तुलाधरकी छोरी हुन् भने मलेसियनका लागि राजदूत सिफारिस भएका तिमिल्सना रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष हुन् । दुवै एमालेको सिफारिसमा राजदूत भएका हुन् । त्यसैगरी बैठकले अष्ट्रेलियाको न्यू साउथ वेल्सका लागि सञ्जीवकुमार शर्मा र भिक्टोरियाका लागि निराजन गौलीलाई अवैतानिक राजदूत नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

footer