kumari
stcnepal

आवेदन हराए पनि राष्ट्रिय परिचयपत्रको अबस्था यसरी थाहा हुने

राष्ट्रिय परिचय पत्रको दर्ता नम्बर नपाएका र आवेदन हराएकाहरुले अब चिन्ता गर्न नपर्ने भएको छ । परिचय पत्र व्यवस्थापन सूचना प्रणालीमा विवरण दर्ता गरेका तर नम्बर नपाएका वा आवेदन हराएकाहरुले परिचय पत्रको अवस्थाबारे सजिलै जानकारी पाउने भएपछि चिन्ता हटेको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार आवेदकले विवरण दर्ता गरेपछि जारी गरिएको आवेदन फाराम भएका तर राष्ट्रिय परिचय नम्बर प्राप्त भइनसकेका नागरिकले विभागको सिटिजन पोर्टलमा गई आफ्नो आवेदन फाराममा रहेको आवेदन नम्बर प्रविष्टि गरी परिचयपत्र नम्बर र सोको अवस्थाबारे थाहा पाउन सक्नेछन् । यदि आवेदनको स्थिति स्वीकृत भएमा नागरिकले आफ्नो राष्ट्रिय परिचय नम्बर सुरक्षित राख्नुपर्छ । त्यस्तै, कार्ड छपाई भएपश्चात् वितरणको लागि एसएमएसमार्फत सूचित गरिनेछ ।

विभागले विवरण दर्ता गरेका तर आवेदन फाराम हराएका वा आवेदनको स्थिति रुजु हुने क्रममा अस्वीकृत, नभेटिएको भएका नागरिकको हकमा विभागको राष्ट्रिय परिचय पत्रको अनलाइन आवेदन वा गुनासो दर्ता पोर्टलमा नागरिकताको अगाडि र पछाडि दुवै भागको स्पष्ट बुझिने फोटो खिचेर मोबाइल नम्बरसहित प्रविष्टि गर्नुपर्ने बताएको छ । यसरी पेश भएको विवरणलाई यकिन गरी विभागले निजको राष्ट्रिय परिचय पत्रसम्बन्धी आवेदनको स्थिति, परिचय नम्बर, परिचयपत्रको स्थिति वा अन्य आवश्यक जानकारी प्रविष्ट गरिएको मोबाइल नम्बरका एसएमएसमार्फत जानकारी गराउनेछ ।

फाराम भर्दा प्राप्त हुने अनुरोध नम्बरबाट व्यक्ति स्वंयले पनि आफ्नो अनुरोधको बारेमा भएको प्रगतिको जानकारी पाउन सकिने विभागले जनाएको छ । यति गर्दा पनि राष्ट्रिय परिचय नम्बर तथा परिचय पत्रको अवस्था थाहा पाउन नसकिएमा विभागको फोन नम्बरहरु ०१–४२०००१४, ४२११५६३, ४२००८९४ र टोल फ्रि नम्बर १६६००१९६६६६ मा सम्पर्क गर्न सकिनेछ ।

footer