kumari
stcnepal

विशेष अदालतले पाँच जनालाई लागु औषधबाट कमाएको सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारण

काठमाडौँ । विशेष अदालतले पाँच जनालाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारण गरेको छ। बिहीबार विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा यसअघि दोषी ठहर भएका उनीहरूको हकमा सजाय निर्धारण गरेको हो । विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु,तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले २०८२ असार ५ गते उनीहरूलाई दोषी ठहर गरेको थियो ।

उनीहरूलाई आज अदालतले ३ वर्ष र एक वर्ष ६ महिना कैद,बिगो र जरिवाना हुने सजाय निर्धारण गरेको हो । विशेषले दीपक राईको हकमा ८३ लाख १ हजार र मिलन लोवाको हकमा १ करोड १३ लाख ५७ हजार बिगो कायम हुने ठहर गरेको छ। विशेषले लोहालाई मुख्य अभियुक्त ठहर गर्दै सम्पत्ति शुद्धीकरण ऐन अनुसार ३ वर्ष कैद र बिगोको दोब्बर २ करोड २७ लाख १४ हजार जरिवाना गर्ने फैसला सुनाएको छ।

त्यस्तै दीपक राईको हकमा पनि ३ वर्ष कैद र बिगोको दोब्बर १ करोड ६६ लाख २ हजार जरिवाना हुने ठहर गरेको छ । त्यस्तै प्रतिवादीहरू सन्दीप राई, केसाङ्ग योल्मु र रामकुमार लोहालाई जनही १ वर्ष ६ महिना कैद हुने फैसला सुनाएको छ। विशेषले सन्दीपसँग २० हजार ५ सय, केसाङ्गसँग ५ लाख ७६ हजार र रामकुमारलाई ६ लाख ५० हजार जरिवाना गर्ने फैसला सुनाएको छ। विशेषले यही प्रकरणमा यो मुद्दाका अन्य दुई प्रतिवादीलाई भने सफाइ दिने फैसला गरेको थियो । दीपक, सन्दीप, केसाङ र रामकुमारले मिलनको खातामा पैसा जम्मा गरेको देखिएको र मिलनले उक्त पैसा झिकेकोले उनीहरूमाथि कसुर कायम भएको फैसला सुनाएको थियो ।

दीपक र मिलन यस मुद्दामा मुख्य कसुरदार ठहर भएका छन् भने अन्य तीन जना मतियार रहेको फैसला भएको थियो । मुख्य अभियुक्तलाई तीन वर्षको कैद हुँदा मतियारहरुलाई त्यसको आधार १ वर्ष ६ महिना कैद अदालतले सुनाएको हो । प्रतिवादीहरू भीमकुमार लोवा र राजेश श्रेष्ठले भने सफाइ पाएका थिए । उनीहरूले लागु औषध किनबेचबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको विभागको अनुसन्धानले देखाएपछि पाँच करोड २७ लाख रुपैयाँभन्दा बढी बिगो कायम गर्दै २३ माघ ०८० मा मुद्दा दायर भएको थियो ।

footer