kumari
stcnepal

राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत लेनडाँडा सुरुङ ब्रेक थ्रू

काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत लेनडाँडा सुरुङ ‘ब्रेक थ्रू’ भएको छ ।  प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये १ हजार ६१२ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग छिचोलिएको नेपाली सेनाले जनाएको छ ।

प्रधान सेनापति प्रभुराम शर्माले भर्चुअल माध्यमबाट सुरुङमार्ग छिचोल्ने कार्यक्रमको अवलोकन गरेका छन् । सो अवसरमा प्रधान सेनापति शर्माले तोकिएको समयमा नै सुरुङमार्गहरु छिचोलिने क्रम रहेको भन्दै खुसी व्यक्त गरे । उनले सरकारबाट नेपाली सेनालाई जिम्मेवारी दिइएको फास्ट ट्रयाक राष्ट्रिय गौरवको आयोजना निर्माणमा खटिएका सम्पूर्ण निकाय तथा व्यक्तिहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।

उनले आयोजनामा कार्यरत व्यक्तिहरूको लगनशीलता, मेहनत र कार्य दक्षताको प्रशंसा गर्दै तोकिएकै समयमा आयोजना सम्पन्न गर्न समेत निर्देशन दिएका छन् । सो अवसरमा बलाधिकृत रथी अशोकराज सिग्देललगायत नेपाली सेनाका रथीहरूको उपस्थिति रहेको थियो । यस्तै, गत जेठ ४ गते लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये काठमाडौँबाट निजगढतर्फ जाने १ किलोमिटर ६३३ मिटर लम्बाइको सुरुङमार्ग र गत जेठ ११ गते धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये १ किलोमिटर ६५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्गहरु छिचोलिएको थियो ।

footer