kumari
stcnepal

सिमलताल पहिरो : त्रिशुली नदीमा बेपत्ता दुई बस खोज्न सुरक्षाकर्मी पुगे घटनास्थल

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट शुक्रवार बिहान ३ बजेर ३० मिनेटमा त्रिशूलीमा खसेका दुई वटा डिलक्स बस अझै फेला परेका छैनन् । हिजो दिनभरको प्रयासपछि पनि फेला नपरेपछि आज बिहानैदेखि खोजी कार्य सुरु भएको छ । त्यसका लागि सेना र सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरी घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दियो ।

काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स नदीमा खसेका हुन् । हिजो घटनास्थल नजिकै वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको एन्जल डिलक्सको पर्दा र बच्चाको ट्रयाकसुट भेटिएको थियो । एन्जल डिलक्समा २४ जना यात्रु सवार रहेको थाहा भएको छ । प्रहरीका अनुसार टिकट काउन्टरका कर्मचारीले १७ जनाको नाम र ७ जनाको संख्या मात्रै इन्ट्री गरेर चढाएको भेटिएको छ ।

गणपति डिलक्समा चालक दलका सदस्य सहित ३१ जना यात्रु सवार थिए । दुई वटा बसमा सवार कम्तीमा ५५ यात्रुको अवस्था अज्ञात छ । गणपति डिलक्सबाट हाम फालेर निस्केका ३ जना प्रहरीको सम्पर्कमा छन् । उनीहरू हुन्, रौतहटको देवाही गोनाहि नगरपालिका–१ घर भएका ३० वर्षीय नन्द दास, राजदेवी नगरपालिका–९ घर भएका ४५ वर्षीय जोगेश्वर राय यादव र गण्डमाई नगरपालिका–३ घर भएका २६ वर्षीय सुरज गुप्ता ।

दुर्घटनामा घाइते भएका उनीहरू मध्येका सुरज गुप्ता अस्पतालबाट डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले  बताए । उनी अहिले भरतपुर विमानस्थल नजिक आफन्तकोमा बसेका छन् । नन्द दास र जोगेश्वर राय यादवको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । गणपति डिलक्समा चालक दलका सदस्य सहित ३१ जना यात्रु सवार रहेको बताइएको छ ।

footer