kumari
stcnepal

डेंगु संक्रमितको संख्या १ हजार ५४४ हजार नाघ्यो, संक्रमण सबैभन्दा धेरै काठमाडौंमा

काठमाडौं । नेपालमा यस वर्ष डेंगु संक्रमितको संख्या १ हजार ५४४ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार सन् २०२३ यता १ हजार ५३३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । यो वर्ष डेंगुको संक्रमण सबैभन्दा धेरै काठमाडौंमा देखिएको छ । काठमाडौं जिल्लामा १८३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै झापामा १२३, चितवनमा ९०, मकवानपुरमा ७०, ओखलढुंगामा ५३, तनहुँमा ५३ र डोटीमा ५० जना संक्रमित भइसकेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार यसवर्ष पनि डेंगुको जोखिम कात्तिक अन्तिमसम्म रहने छ । एक दशकको तथ्यांकलाई हेर्दा डेंगु सबैभन्दा बढी असार, साउन, भदौ, असोज र कात्तिकसम्म रहने देखिन्छ । ‘गत वर्ष मनसुन चाडै सक्रिय भएकाले डेंगु चाँडै फैलिन सुरु गरेको थियो । यसवर्ष भर्खरै मनसुन सक्रिय भएको छ । अबका दिनमा डेंगुका बिरामी बढ्छन्’, डा. दाहालले भने ‘अघिल्ला वर्षका तथ्यांकलाई हेर्दा कात्तिकसम्म जोखिम रहने देखिन्छ ।’ एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामका लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण नेपालमा पहिलो पटक २००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा भेटिएको थियो । २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए । सन् २०१६ मा चितवन, झापा र रूपन्देहीमा महामारीकै रूपमा डेंगु देखियो ।

सन् २०२० मा धरानमा फैलिएको डेंगुबाट १८ हजार मानिस संक्रमित भए, ४३ जिल्लामा फैलिएको डेंगुले १२ जनाको मृत्यु भयो । त्यसयता क्रमशः डेंगु संक्रमितको संख्या मात्रै बढेन संक्रमण अन्य जिल्लामा समेत फैलियो । सन् २०२२ मा आइपुग्दा डेंगु संक्रमित ७७ वटै जिल्लामा फैलिँदा ५४ हजारभन्दा बढी संक्रमित भए । उनीहरूमध्ये ८८ जनाको मृत्यु भएको थियो । २०२३ मा भने कोशी प्रदेशमा डेंगु फैलिएको थियो । २० जना मृत्यु हुँदा ५२ हजारभन्दा बढी संक्रमित भएका थिए । ‘पछिल्ला दिनमा चिसो मौसममा समेत डेंगुका बिरामी देखिएका छन् । अब डेंगु सदाबहादर देखिने आकलन गर्न सकिन्छ’, डा. दाहालले भने ।

विज्ञका अनुसार डेंगु सार्ने लामखुट्टेको वृद्धि, विकास हुने ठाउँ फालिएका टायर, फलाम र प्लास्टिकका ड्रमहरू हुन् । डेंगुको संक्रमण रोक्नका लागि लामखुट्टेले फुल पार्न सक्ने घरभित्र र वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाडाहरू खोजी खोजी सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्छ । ट्यांकी, ड्रम, बाटा, बाल्टिन जस्ता पानी राख्ने भाँडाहरू पनि लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्नुपर्छ । पानी जम्नसक्ने ठाउँमा नियमित सफा गर्नुपर्छ । साथै समुदायस्तरमै लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीव्र पार्नुपर्छ । बाहिर निस्कँदा शरीर ढाक्ने कपडा लगाउने, घरका झ्याल, ढोकामा जाली हाल्ने, सुत्दा झुल हाल्ने जस्ता सचेतता अपनाउनुपर्छ ।

footer