kumari
stcnepal

मन्त्रिपरिषद् बैठकका निर्णयहरु अब २४ घण्टापछि मात्र सार्वजनिक

काठमाडौं । सरकारले अब मन्त्रिपरिषद् बैठकका निर्णयहरु अब २४ घण्टापछि मात्र सार्वजनिक गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक सोमबार बसेको थियो । बैठकले सरकारको प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तोकेको छ । पहिलो मन्त्रिपरिषद्का निर्णयहरुबारे सञ्चारकर्मीहरुलाई जानकारी दिएका उनले अबका दिनमा भने २४ घण्टापछि मात्र सार्वजनिक गर्ने बताए । कुनै पनि निर्णय परिपक्क हुन समय चाहिने भएकाले यस्तो निर्णय गरेको उनले बताए ।

यदि सार्वजनिक महत्वको कुनै निर्णय सार्वजनिक गर्नुपरे मन्त्रिपरिषद् नै निर्णय गरेर बाहिर ल्याउने उनले बताए । ‘मन्त्रिपरिषदको निर्णयहरु २४ घण्टासम्म गोप्य रहन्छ, मन्त्रीहरुले पनि बाहिर लान पाउँदैन, तर हामी के गर्दा रहेछौं भने आज नै भन्दिँदा रहेछौं । त्यो हाम्रो गोपनीयताको विरुद्धमा हुन्छ, अब दोस्रो बैठकदेखि तपाईंहरुलाई जानकारी गराउनुपर्ने मन्त्रिपरिषदको फैसलाहरु त्यो दिन हुन्न, २४ घण्टापछि मैले नै मन्त्रालयमा जानकारी गराउने काम हुन्छ’, उनले भने ।

यदि अति जरुरी र सार्वजनिक महत्वको विषय भएमा मन्त्रिपरिषदले निर्णय गरेर सार्वजनिक गर्न सक्ने मन्त्री गुरुङले बताए । मन्त्रिपरिषदले निर्णय गरेको विषय कहिलेकाहीँ मन्त्रीले परिवर्तन गर्न पाउने भन्दै उनले पहिले नै सार्वजनिक गरेमा परिवर्तन गर्न समस्या हुने बताए । ‘मन्त्रीले कहिले कहिले (निर्णय) चेञ्ज गर्न पाउँछ, प्रक्रिया नपुगेको, मैले राम्रोसँग अध्ययन नगरेको भनेर । त्यसैले पहिले नै भन्दियो भने चेन्ज गर्न समस्या हुन्छ नि’, मन्त्री गुरुङले भने ।

footer