kumari
stcnepal

पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भिडभाड व्यवस्थापनको सबै तयारी पूरा

काठमाडौं । पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भिडभाड व्यवस्थापनको सबै तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

अन्य महिनाको तुलनामा साउन महिनामा पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको बढी भिड लाग्ने गर्दछ । साउने सोमबारका व्रतालु र बोलबमका श्रद्धालुहरुले शिवको विशेष भक्तिपूर्वक पूजा गर्ने भएकाले पशुपति मन्दिरमा साउनमा घुइँचो लाग्दछ । यस वर्ष साउन महिनामै पशुपति क्षेत्रमा कोटी होम र शिवपुराण पाठ परायणलगायतका कार्यक्रम राखिएकाले भिडभाड अझै बढ्ने अनुमान छ ।

यस वर्षको साउन महिनामा चार वटा सोमबार परेका छन् । ती चार सोमबार, चार शनिबारका साथै साउन महिनामै परेका नागपञ्चमी र गुरुपूर्णिमाको दिन पनि पशुपतिमा भक्तजनको भिड हुने गर्दछ । त्यसैले भक्तजनको सुविधा, सुरक्षा प्रबन्ध लगायतका तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । भिडलाई व्यवस्थित गर्न स्वयंसेवक खटाउनेदेखि दमकल र एम्बुलेन्सको पनि व्यवस्था गरिएको अधिकारीले बताए ।पशुपतिनाथ मन्दिरमा हरितालिका (तीज), बाला चतुर्दशी, महाशिवरात्रि, वैशाख १ गतेको नयाँ वर्ष, अक्षय तृतीया, जनैपूर्णिमाजस्ता पर्वमा एक वा दुई दिन पशुपति क्षेत्रमा भिड हुने भएपनि साउन महिनामा भने महिनैभर भक्तजनको भिड लाग्ने गर्दछ ।

साउन महिनाभर पशुपतिनाथ मूल मन्दिरका चारैवटा ढोका बिहान तीन बजेदेखि नै खुला गरिने छ । कोषले असार १ गतेदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गर्न थालेको थियो । साउन महिनाभर भक्तजनका लागि सहज होस् भनी चारै ढोका बिहान तीन बजेदेखि नै खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

footer