kumari
stcnepal

पेट्रोलियम पदार्थको आयात बढयो, मूल्य भने घट्यो

काठमाडौं । नेपालमा एक वर्ष अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ । यसमध्ये डिजेल सबैभन्दा अगाडि छ ।देशभरि विद्युतीय सवारीसाधनको बढ्दो संख्यासँगै पेट्रोलियम पदार्थ खपत घट्ने अपेक्षा थियो । तर, तथ्यांकले भने मुलुक अझै पनि पेट्रोलियम पदार्थमै अधिक निर्भर रहेको देखाउँछ ।

गत आर्थिक वर्ष २०८०/८१ मा १४ लाख ११ हजार ४ सय ४० किलोलिटर बराबर डिजेल आयात भएको छ । २०७९/८० मा १४ लाख ८ हजार ४ सय ९४ किलोलिटर डिजेल आयात भएको थियो । तर, मूल्य भने घटेको छ । अघिल्लो आव २०७९/८० मा १ खर्ब ५३ अर्ब ७६ करोड रुपैयाँको डिजेल आयात भएकोमा यस वर्ष १ खर्ब ४३ अर्ब ९७ करोड बराबरको डिजेल आयात भएको छ । सोही प्रवृत्ति पेट्रोल र खाना पकाउने एलपी ग्यासमा समेत देखिएको छ । नेपाल आयल निगम प्रवक्ता मनोज ठाकुर अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालमा कम मूल्यमा धेरै आयात भएको बताउँछन् । तर, खपत भने नघटेको उनको भनाइ छ ।

‘नेपालमा तत्काल पेट्रोलियम पदार्थको आयात घट्ने अवस्था छैन, उनी भन्छन्, ‘किनकि, अहिले निजी सवारीसाधनमा विद्युतीयको आयात बढेको देखिए पनि धेरै खपत हुने सार्वजनिक र ढुवानीका सवारीसाधनमा डिजेल नै प्रयोग हुन्छ ।’अर्कातर्फ, सरकारले मुलुकभित्र उत्पादित विद्युत् खपत भान्सामा बढाउन विभिन्न प्रयास गरिरहेको छ । तर, त्यसको नतिजा सकारात्मक देखिँदैन ।एलपी ग्याँस आयात समेत परिमाणमा निरन्तर बढिरहेको छ । यसो हुनुमा दूरदराजसम्म दाउरा विस्थापित भई ग्यास पुग्नु मुख्य कारण रहेको निगमको आकलन छ ।

खासगरी सडक यातायात पहुँच विस्तारसँगै खाना पकाउने प्रयोजनमा दाउरा विस्थापित भई एलपी ग्याँस खपत बढिरहेको छ । त्यसको तुलनामा विद्युतीय चुलो उपयोगको गति बढ्न नसक्दा परिमाणमा अझै पनि विद्युत्ले ग्यास विस्थापित गर्न नसकेको पाइएको छ ।तथ्यांक अनुसार २०७९/८० मा ६ लाख ८० हजार ८ सय ७ किलोलिटर पेट्रोल आयात गर्न ६६ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ विदेशिएको थियो ।२०८०/८१ मा भने ६ लाख ८७ हजार ९ सय ३१ किलोलिटर पेट्रोल आयात भएको छ । यसका लागि ६८ अर्ब ८४ करोड विदेशिएको छ ।उता, खाना पकाउने ग्यासमा २०७९/८० मा ५१ करोड ४३ लाख ४० हजार किलो आयात हुँदा ५८ अर्ब १५ करोड विदेशिएको छ । २०८०/८१ मा भने ५२ करोड ४२ लाख किलो एलपी ग्यास आयात हुँदा ५५ अर्ब ६१ करोडमात्र विदेशिएको तथ्यांकले देखाएको छ ।

सरकारले विद्युत् खपत घटाउन भन्दै विद्युतीय सवारीसाधन आयातमा भारी कर छुट दिइरहेको छ । यसले विद्युतीय सवारीसाधन आयातको मात्रा बढाएर पनि पेट्रोलियम पदार्थको विस्थापन भने नगरेको पाइएको छ ।अर्कातर्फ, उद्योगहरूमा अघोषित लोडसेडिङको अवस्थाले भने यस वर्ष डिजेल खपत कम नभएको अनुमान गरिएको छ ।हिँउदमा विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा माग अनुसार बिजुली दिन सकिरहेको छैन । जसले गर्दा डिजेल प्लान्ट चलाउनुपर्ने बाध्यता छ ।निर्माण क्षेत्रमा खटिने र ढुवानीमा प्रयोग हुने सबै सवारीसाधन तथा उपकरणमा समेत डिजेलकै प्रयोग हुन्छ । सोहीकारण यसको खपत नघटेको आयल निगमको अनुमान छ ।

footer