kumari
stcnepal

डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली नेपाल विद्युत् प्राधिकरणले जोडिदिने

काठमाडौं । डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली नेपाल विद्युत् प्राधिकरणले जोडिदिने भएको छ । बिजुली महसुल विवादमा प्राधिकरणले २५ असारदेखि ती उद्योगको लाइन काटेको थियो । मंगलबार बसेको विद्युत् प्राधिकरणको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो ।

आगामी तीन महिनाभित्र उद्योगीहरूले बक्यौता महसुल भुक्तानी नगरेमा पुनः नियम अनुसार बक्यौता रकम असुली गर्ने सर्तमा प्राधिकरणले ती उद्योगहरूको बिजुली जोड्ने निर्णय गरेको हो । प्राधिकरण बोर्डले गरेको निर्णयमा सञ्चालकद्वय भक्तबहादुर पुन र विपिन आचार्यले भने फरक मत राखेको एक सदस्यले जानकारी दिए । उनीहरूले विद्युत् महसुल उठ्ने ग्यारेन्टी नभई काटिएको लाइन जोड्न नहुने मत राखेको स्रोतले बतायो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार लाइन जोडिदिन कार्यकारी निर्देशक कुलमान घिसिङलाई दिएको निर्देशन उनले अवज्ञा गरेका थिए । त्यसपछि आइतबार विद्युत् नियमन आयोगले प्राधिकरणलाई विवाद कायमै रहेको बखत लाइन काट्न नमिल्ने कानुनी व्यवस्था रहेको भन्दै काटिएको लाइन तत्काल जोडिदिन लिखित निर्देशन दिएको थियो । त्यति गर्दा पनि सोमबारको बोर्ड बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले लाइन जोड्न मानेका थिएनन् । तर, मंगलबार पुनः बैठक बसेर लाइन जोड्ने निर्णय भएको हो ।

footer