kumari
stcnepal

एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलायो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक साउन १० गते बिहीबार ११ बजे बस्ने गरी बोलाइएको नेता सोमप्रसाद पाण्डेले जानकारी दिए ।

बैठकको एजेन्डा केन्द्रीय कमिटीलाई पूर्णता दिने रहेको पाण्डेको भनाइ छ । २९९ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्ने सो पार्टीले जनाएको छ । यसअघि ९३ सदस्यीय केन्द्रीय सदस्य सर्वसम्मत भए पनि बाँकी २०६ जना केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी छ । केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको आधारमा सन्तुलन र क्लस्टर मिलाएर केन्द्रीय सदस्य चयन गर्ने पार्टी नेताहरूले बताएका छन् ।

केन्द्रीय सदस्यका लागि प्रदेशहरूले पठाएका नाममा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेता प्रमेश हमाललगायत नेताहरूको हाई कमिटीले छनोट गरेर केन्द्रीय कमिटी बैठकमा नामहरू पेस गरिनेछन् । त्यसरी पेस भएका नाममा केन्द्रीय कमिटीमा पुन छलफल गरी अनुमोदन हुने नेता पाण्डेको भनाइ छ । नेकपा एकीकृत समाजवादीले सबै जिल्लाको पहुँच केन्द्रीय नेतृत्वमा सहभागिता हुनेगरी भौगोलिक सन्तुलन कायम गर्दै जिल्लाबाट कम्तीमा एकजना सदस्यको प्रतिनिधित्व सुनिश्चित हुनेगरी मापदण्ड बनाइएको बताएको छ ।

यसअघि असार २१ गते सकिएको १० राष्ट्रिय महाधिवेशनमा अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा भए पनि बाँकी केन्द्रीय सदस्य १० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने घोषणा नेताहरूले गरेपनि उक्त समयमा कमिटीलाई पूर्णता दिन नेताहरू असफल भएका छन् ।

footer