kumari
stcnepal

एकै पटक १८ देशका लागि राजदूत सिफारिस, भारतमा शर्मालाई नै निरन्तरता

काठमाडौं । मन्त्रिपरिषद बैठकले १८ देशमा राजदूत नियुक्ति सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले ५ देशको राजदूतलाई फिर्ता बोलाउने र १८ देशका लागि नयाँ राजदूत सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । स्रोतका अनुसार चीन, रुस, अष्ट्रेलिया, श्रीलंका र दक्षिण अफ्रिकाका राजदूत फिर्ता बोलाएको छ । ‘माओवादी र एकीकृत समाजवादीको कोटामा नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाइएको हो’ अर्का एक मन्त्रीले भने । चीनमा लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, रुसका लागि मिलन तुलाधर र अष्ट्रेलियाका लागि राजदूत कैलाशराज पोखरेललाई फिर्ता बोलाइएको छ । श्रीलंकाका लागि राजदूत बासुदेव मिश्र र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत दानबहादुर तामाङलाई फिर्ता बोलाउने निर्णय भएको छ ।

मन्त्रिपरिषद्को बैठकले १८ देशका लागि नेपाली राजदूत सिफारिस गर्ने निर्णय पनि गरेको छ । स्रोतका अनुसार भारत, चीन, अमेरिका, बेलायत, रुस, दक्षिण कोरिया, कतार, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, अष्ट्रेलिया, साउदी अरब, दक्षिण अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनीका लागि नयाँ राजदूत सिफारिस गरिएको हो । भारतका लागि नेपाली राजदूतमा शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय भएको छ । अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी सिफारिस भएका छन् । बेलायतका लागि नेपाली राजदूत भइसकेका उनले प्रचण्ड सरकारले एमालेको कोटामा भारतका लागि राजदूत सिफारिस गरेको थियो । तर नयाँ गठबन्धनमा भएको भागबण्डामा भारत कांग्रेसले लिएपछि रेग्मी अमेरिका पुगेका हुन् ।

यस्तै पूर्व सचिव चन्द्र घिमिरेलाई बेलायतका लागि राजदूत सिफारिस गरिएको छ । प्रचण्ड सरकारले उनलाई एमालेको कोटामा अमेरिकाका लागि राजदूत सिफारिस गरेको थियो । तर राजदूत सिफारिसको निर्णय कार्यान्वयन नहुँदै सरकार फेरिएपछि उनी राजदूत भएर जाने देश पनि फेरिएको छ । चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली, दक्षिण कोरियाका लागि पूर्वमन्त्री शिवमाया तुम्बाहाङ्फे र मलेसियाका लागि नेपाली राजदूतमा डा. नेत्र तिमल्सिना सिफारिस भएका छन् ।

तिमल्सिना यसअघि पनि मलेसियाका लागि नै राजदूत सिफारिस भएका थिए । यस्तै सनिल नेपाल पनि राजदूत सिफारिस भएका छन् । प्रचण्ड सरकारले पोर्चुगलमा दूतावास खोल्ने निर्णय गरेर उनको नाम सिफारिस गरेको थियो । नियुक्त प्रक्रिया पूरा गरेर पोर्चुगल जाने तयारीमा रहेका बेला प्रचण्ड सरकारलाई ११ राजदूत फिर्ता बोलाउँदा उनी पनि परेका थिए ।

footer