kumari
stcnepal

ललिता निवासको जग्गा काण्ड चार डिएसपीले लिखत किर्तेबारे अनुसन्धान गर्दै

 

काठमाडौं । बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा चारपटक कागजात किर्ते भएको पाइएकोछ । केन्द्रीय अनुसन्धान ब्युरोले निकालेको निष्कर्ष अनुसार २०४९, ०६२, ०६६ र ०६९ सालमा चारपटक सरकारी कागजात किर्ते गरेर बिचौलियाहरूले सरकारको नाममा रहेको जग्गा व्यक्तिको नाममा दर्ता गराएको पाइएको हो ।

शोभाकान्त ढकाल र रामकुमार सुवेदी समेतले योजनाबद्ध रूपमा कागजात किर्ते बनाएर तथा नक्कली मोही खडा गरेर १४० रोपनी भन्दा बढी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएका छन् । सिआईबीले पुस ७ मा काठमाडौँको ताहाचल घर भएका रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई पक्राउ गरेको थियो । सुवेदी दम्पतीमाथि लिखत सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोका डिआईजी धिरज प्रताप सिंहले बताउनु भयो ।

फरक फरक सालमा किर्ते भएको निष्कर्षका आधारमा ब्युरोले छुट्टाछुट्टै अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरिरहेको छ । डिएसपीहरू कुमार मैनाली, सुकदेव खनाल, रविनबावु रेग्मी र मदनजित महराले ललिता निवास मुद्दाको अनुसन्धान गरिरहेका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले पनि चारजना फरक वकिललाई सो मुद्दा अभियोजन गर्ने जिम्मेवारी दिएको छ । रामकुमार सुवेदी मालपोत कार्यालय डिल्लीबजारका लेखापढी व्यवसायी हुन् । शोभाकान्त ढकालले उनीसँग मिलेर नक्कली मोही खडा गर्ने तथा नक्कली गुठी बनाएर सो जग्गा व्यक्तिको नाममा ल्याउने योजना बनाएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतको आदेशले शोभाकान्त ढकाल पुर्पक्षका लागी थुनामा छन् । ब्युरोले ढकाललाई केन्द्रीय कारागारबाट झिकाएर बयान लिइरहेको छ । शोभाकान्तकी पत्नी उमा ढकाल फरार छिन् ।

 

 

footer