kumari
stcnepal

राजधानीको बौद्ध बाट बरामद भएको धातु युरेनियम नभएको पुष्टि

गत फागुन पहिलो साता राजधानीको बौद्ध बाट बरामद भएको धातु युरेनियम नभएको पुष्टि भएको छ। दुई छुट्टाछुट्टै प्रयोगशालामा गरिएको परीक्षणमा सो धातु युरेनियम भएको पुष्टि नभएको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख गंगा प्रसाद पौडेलले  जानकारी दिए ।

उनका अनुसार युरेनियम पुष्टि हुन नसकेपछि घटनामा मुछिएका सबै अभियुक्त शुक्रबार हाजिरी जमानीमा छुटेका छन् । युरेनियम कारोबार भएको आशंका सहित प्रहरीले ८ जना कारोबारीलाई पक्राउ गरेको थियो । उनीहरुले भारत बाट युरेनियम जस्तो देखिने पदार्थ ल्याएर बेचबिखन गर्न लागेको सूचनाका आधारमा महानगरीय प्रहरी बृत्त बौद्ध बाट खटिएको टोलीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा काँग्रेस ललितपुरका नेता नवराज महत समेत रहेका थिए। उनी ललितपुर क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभाका उम्मेदवार थिए । बौद्ध इलाकामा केही व्यक्तिहरुले बिभिन्न समूह बनाई युरेनियमको सङ्कलन तथा भण्डारण गरी उच्च मूल्यमा बिक्री बितरण गर्न लागेको सूचना पाएपछि प्रहरी सक्रिय बनेर उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रहरीले खोजबिनका क्रममा ह्यात रिजेन्सी होटलको कार पार्किङ गर्ने स्थानमा पार्किङ गरी राखेको अवस्थाको बा ५ च ८२०९ नम्बरको कारभित्र बाट २ किलो ८०० ग्राम तौल भएको युरोनियम भनिएको पदार्थ सहित सुरुमा भुपेन्द्रबहादुर खड्का र नवराज महतलाई पक्राउ गरेको थियो । सोधपुछ गर्ने क्रममा उक्त युरोनियम जस्तो देखिने पदार्थलाई उनीहरुले भारत बाट ल्याई प्रतिकिलो ३५ करोडमा बिक्री गर्न लागेको खुलेको प्रहरीको दावी छ । यसका लागि उनीहरुले केही व्यक्ति सँग डिल समेत गरेको प्रहरीको भनाइ छ ।

पक्राउ पर्ने अन्यमा सिन्धुपाल्चोकका रामकृष्ण लामिछाने, सिरहाका गोपिलाल दास, नारायण यादव, महोत्तरीका सुरेन्द्र प्रसाद चौधरी, भारतीय नागरिक उपेन्द्र कुमार मिश्र र राजु ठाकुर रहेका थिए ।

 

 

 

footer