kumari
stcnepal

वीरगञ्ज बाट भन्सार छलीको सामान सहित दुई वटा ट्रक नियन्त्रणमा

वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्ज बाट एकै दिन १ करोड ४६ लाख ४५ हजार ६ सय ७५ रुपैयाँ बराबरको समान सहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । प्रज्ञापन पत्र बिना (भन्सार राजश्व नतिरी) मालसमान लिएर वीरगञ्ज बाट पथलैया तर्फ जाँदै गरेको दुई वटा ट्रक वीरगञ्ज– १४ गण्डक चोक बाट नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल १३ नम्बर गण हेड क्वार्टर पर्सा बाट खटिएको सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको ट्रकहरुको मुल्य २५/२५ लाख रहेको अनुमान गरिएको छ । प्रज्ञापन पत्रबिना मालसमान ढुवानी भईरहेको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरीले टोली खटाएको थियो । टोलीले गण्डक चोकमा ना २ ख ९५४३ र ना ७ ख ९४२ नम्बरको ट्रक रोकेर चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा ना २ ख ९५४३ नम्बरको ट्रकबाट भन्सार प्रज्ञापनपत्र नभएको मेडिकल उपकरण, औषधि र अन्य खुद्रा सामान गरि ९४ लाख ५३ हजार ५८ रुपैया मुल्य बराबरको सामान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । ना ७ ख ९४२ नम्बरको ट्रकमा ५१ लाख ९२ हजार ६ सय १७ रुपैयाँको कपडा र अन्य सामान फेला परेको सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।

दुवै ट्रक सहित बरामद गरिएको समानको मुल्य १ करोड ९६ लाख ४५ हजार ६ सय ७५ रुपैयाँ मुल्यांकन गरिएको छ । बरामद गरिएको सामान, ट्रक सहित आवश्यक कारबाही लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

 

 

footer