kumari
stcnepal

अकुत सम्पति आर्जन गरेको अभियोगमा निलम्बित नायव सुब्बा विरुद्ध मुद्दा दायर, १ करोड बिगो दाबी

काठमाडौं । भन्सार जाँचपास परीक्षण कार्यालय तिनकुनेका निलम्बित नायव सुब्बा देवी बहादुर थापा विरुद्ध अकुत सम्पति आर्जन गरेको अभियोगमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापा विरुद्ध १ करोड बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । थापाले १९ वर्षे सेवा अवधिमा पदमा रहँदा गैर कानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर छ । २०५६ सालमा विचारी पद बाट सेवा प्रवेश गरेका थापाले २०७५ सालमा नायव सुब्बा पदमा कार्यरत रहँदा निलम्बनमा परेका थिए ।

उजुरीका आधारमा उनको सेवाअवधिलाई जाँच गर्दा उनको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियत भन्दा बढी रकमले आफू, बाबु, आमा र श्रीमतीको नाममा घरजग्गा खरिद गर्नुका साथै कम्पनी तथा फर्महरु दर्ता गरी परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, परिवारका सदस्यको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरु तथा कम्पनीहरुका संस्थापक एवं साधारण शेयरहरु खरिद लगानी लगायत गरी ३ करोड ८९ लाख ४५ हजार ५८८ कूल देखिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारी जानकारी दिए ।

उनका अुनसार सोही अवधिमा थापाले परिवारका सदस्यको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरु तथा कम्पनीहरुका संस्थापक एवं साधारण शेयरहरु खरिद लगानी लगायतका चलअचल सम्पत्तिहरु खरिद, विभिन्न उद्योग तथा फर्महरुमा लगानी, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रकम जम्मा एवं घर निर्माण लगायतमा लगानी गरिएको भेटिएको छ । थापाको बैध आयको तुलनामा १ करोड ८७ लाख ४७ हजार १ सय ४९ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको अख्यियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियारले सोही बराबरको बिगो दाबी राख्दै जफतको माग सहित मुद्दा दायर गरेको छ । उक्त मुद्दामा थापाको बाबु कृष्ण बहादुर थापा, आमा चन्द्र माया र श्रीमती विमसा राउतलाई प्रतिवादी कायम गरिएको छ भने उनीहरुको नाममा भएको सम्पत्ति जफत गरी मुद्दा चलाइएको अख्तियारले जनाएको छ ।

footer