kumari
stcnepal

चितवनमा आज बिहान २ बजे देखि निभाउन सुरु गरिएको आगो चार वटा दमकलको सहयोगमा आज बिहान ७ बजे मात्र नियन्त्रणमा

चितवन । चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरमा लागेको आगो आज बिहान ७ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आज बिहान २ बजे देखि निभाउन सुरु गरिएको आगो चार वटा दमकलको सहयोगमा आज बिहान ७ बजे मात्र नियन्त्रणमा लिन सकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।

भरतपुर महानगरपालिका–३ कमलनगर स्थित तुलसीराम सापकोटाको चार तले घरमा आगो लागेको हो । नारायणगढ बजार क्षेत्रमा पर्ने घरमा आगो लागेपछि वरपरका बासिन्दा त्रसित भएका थिए । आगो बाट सो घरमा रहेका ६ वटा पसलका सामानहरु जलेर नष्ट भएका छन् । क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ ।

प्रहरीका अनुसार विष्णु प्रसाद लामिछानेको एक्सप्रेस मोबाइल पसल, विष्णु आचार्यको दुर्गा इलेक्ट्रोनिक पसल, बसन्त कार्कीको श्रीकृष्ण सप्लायर्स, शंकर सापकोटाको जुत्ता पसल, बासुदेव आचार्यको फेन्सी पसल र सूर्यमणि लामिछानेको दियालो फेन्सी पसलमा क्षति पुगेको छ । मानवीय क्षति भने भएको छैन । आज बिहान करिब २ बजे तिर आगो लागेको सूचना प्रहरीले पाएको थियो । त्यस लगत्तै वडा प्रहरी कार्यालय नारायणगढ र जिल्ला प्रहरी कार्यालयको टोली आगो लागेको स्थानमा पुगेको थियो ।

त्यसपछि भरतपुर महानगरपालिकाको दमकलले आगो निभाउन सुरु गरेको थियो । तर एउटा मात्र दमकलले आगो निभाउन नसकेपछि खैरहनी नगरपालिकाका दुईवटा र नेपाली सेनाको एउटा दमकल बोलाएर आगो निभाउन थालिएको थियो । आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी पनि खटिएका थिए । सबैको प्रयासमा आज बिहान ७ बजेको समयमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको र क्षतिको विवरण आउन बाँकी रहेको डिएसपी अधिकारीले जानकारी दिए ।

 

 

footer