विराटागर ।महिला अनुयायी माथि जवरजस्ती करणीको मुद्दा खेपेका सिद्धबाबा रामकृष्णचार्य श्री वैष्णव कृष्णदास भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसला उच्च अदालत विराटनगरले बदर गरिदिएको छ । गिरीलाई २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालिन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको थियो ।
मंगलबार उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले जिल्लाको फैसला बदर गरेको हो । उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीका अनुसार जिल्ला अदालतको आदेश उच्च अदालत विराटनगरले बदर गरिदिएको हो । उच्च अदालतले जिल्लामा पेश भएका प्रमाण पुन बुझेर फैसला गर्न जिल्लालाई आदेश दिएको छ ।
इजलासले पीडित र पीडिक पक्ष बीच भएको भ्वाइस कलको परीक्षण गर्न, पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने डाक्टरको बकपत्र गर्न र पीडित र पीडक पक्षका साक्षीको बकपत्र गर्न र प्रमाणहरु बुझेर पून इन्साफ गर्न आदेश दिएको हो । २०७६ कात्तिक ४ गते राति सिद्धबाबाले जबर्जस्ती करणी गरेको दाबी सहित २०७६ मंसिर ११ गते महिला अनुयायीले जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन् ।
‘सफाइ दिने जिल्लाको फैसला बदर भएको छ,’ उनले भने,‘इजलासले पून प्रमाणहरु जाँच गरी इन्साफ गर्न जिल्ला अदालत सुनसरीलाई आदेश दिएको छ ।’