काठमाडौं ।सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरी माथि आठ वर्षअघि भएको बलात्कार सम्बन्धी घटनाकाे छानविनका लागि समिति गठन भएको छ । गृह मन्त्रालयले छानविन समिति गठन गर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरको नेतृत्वमा समिति बनाएको हो ।
समितिमा एसपी कृष्ण कोइराला, डीएसपी कोपिला चुडाल, हरि बस्नेत र इस्पेक्टर सपना खड्का सदस्य छन् । बुधबार एक युवतीले सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लीप सार्वजनिक गर्दै १६ वर्षको हुँदा आफू माथि एक सौन्दर्य प्रतियोगिताका सञ्चालकले बलात्कार गरेको खुलासा गरेकी थिइन् ।
ती व्यक्तिले भिडियो समेत खिचेर ब्ल्याकमेल गर्दै ६ महिना सम्म जबरजस्ती करणी गरेको उनको भनाइ छ । यस विषयमा उनले पूर्वमिस नेपाल माल्भिका सुब्बालाई पनि बताएको खुलाएकी थिइन् । तर उनले न्यायका लागि सहयोग नगरेको उनले भनेकी छन् । यसपछि सुब्बाको आलोचना भइरहेको छ । सुब्बाले त्यसवेला उनको कुरालाई सामान्य रुपमा लिएकोमा माफी मागेकी छन् ।
बलात्कारको मुद्दामा एक वर्षे हदम्याद रहेका कारण कानूनी प्रक्रिया अघि बढाउन जटिलता रहेको प्रहरीको भनाइ छ । तर अन्य विभिन्न ऐनमा पनि टेकेर मुद्दा चलाउन सक्ने अवस्था रहेका तर्फ पनि बुझ्ने काम भइरहेको एसएसपी कुँवर बताउँछन् ।
उनी नेतृत्वको समितिका सदस्य एसपी कोइराला नेतृत्वको टोलीले शुक्रबार पीडितको घरमा पुगेर भेट गरेको छ । काउन्सिलर सहितको टोलीले उनी सँग कुराकानी गरेको हो ।