kumari
stcnepal

सम्पर्क विहीन भएको तारा एयरको जहाजको खोजीमा प्रतिकूल मौसम बाधक

काठमाडौं ।पोखरा बाट जोमसोम जाँदै गर्दा सम्पर्क विहीन भएको तारा एयरको जहाजको खोजीमा प्रतिकूल मौसम बाधक बनेको छ । मौसम खराब भएका कारण खोजी कार्यमा कठिनाइ भएको मुस्ताङ प्रहरीले जनाएको छ । पोखरा बाट तेस्रो उडानमा रहेको तारा एयरको ९ एन एईटी टि्वनअटर जहाज लेतेपास नजिक पुगेपछि सम्पर्क विहीन भएको थियो । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखरा बाट उडेको जहाज सम्पर्क विहीन भएको हो । सो जहाजमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सहित २२ जना छन् ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार मुस्ताङ र पोखरा बाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर जहाजको खोजी भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसम विदका अनुसार आज बिहानै देखि मुस्ताङ सहितका उच्च पहाडी र हिमाली भागमा बदलीको अवस्था छ । अपराह्न देखि मौसम अझै प्रतिकूल हुने पूर्वानुमान गरिएको छ ।

मौसमविद हिरा भट्टराईले  भने, ‘मुस्ताङको थाकमार्फा केन्द्रमा ०.२ मिलिमिटर पानी परेको रेकर्ड छ, जसलाई हामी नगन्य भन्छौं । तर उच्च पहाडी र पहाडी क्षेत्रका अधिकांश स्थानमा आज बिहानै देखि बदलीको अवस्था थियो ।’ उनले आज अपराह्नदेखि सो क्षेत्रमा मौसम अझै प्रतिकूल हुने पूर्वानुमान गरिएको बताए । मौसमविद भट्टराईले भने, ‘अपराह्न हुँदै जाँदा खेरि पानी पर्ने सिस्टम झन् बलियो हुँदै जाने देखिन्छ । त्यसैले पोखरा, मुस्ताङ एरिया तिर आकाश खुल्ने सम्भावना धेरै कम छ । तराईतिर भने अलि–अलि खुल्ला ।’

घाँसाका स्थानीय विशाल शेरचनका अनुसार त्यहाँ बादल अहिले लागिरहेको छ र पानी पनि परिरहेको छ । हिमाली र उच्च पहाडी धेरै भागमा मौसम बारे सूचना दिने स्टेशनहरु प्रयाप्त छैनन् । त्यसैले सूचना संकलनमा समस्या हुने गरेको मौसमविदहरु बताउँछन् ।

 

 

footer