kumari
stcnepal

सम्पर्क विहीन जहाज खोजीका लागि बिहानै देखि सेना र प्रहरी परिचालन

काठमाडौं ।पोखरा बाट मुस्ताङ तर्फ उडेको तारा एयरको सम्पर्कविहीन जहाज खोजीका लागि सोमबार बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख डिएसपी रामकुमार दानीले आज बिहान ५ बजे देखि जहाज खोजीका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको  बताए।

आइतबार बिहान ९:५५ मा पोखरा बाट उडेको जहाज १०:१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर १०:०७ बजेदेखि जहाज सम्पर्कविहीन छ।आइतबार साँझसम्म सुरक्षाकर्मी र स्थानीयले जहाजको खोजी गरे पनि फेला पारेका थिएनन्।

डिएसपी दानीका अनुसार आज बिहान सेनाको हेलिकप्टरबाट पनि खोजी कार्य जारी छ। ‘मौसम सफा नहुँदा हेलिकप्टर बाट खोजी कार्यलाई निरन्तरता दिन कठिनाइ भइरहेको छ, कुहिरो लागेको छ। केही बेरमा मौसम सफा होला,’ उनले भने।

आज थप हेलिकप्टर मगाएर सम्पर्कविहीन जहाजको खोजी गरिने पनि उनले बताए। उनका अनुसार कोवाङ आसपास धौलागिरि हिमाल रेन्ज तर्फ खोजी कार्यलाई केन्द्रित गरिनेछ। ‘जमिन र आकाश बाट खोजी कार्यलाई निरन्तरता दिन्छौं,’ उनले भने, ‘स्याटेलायट इमेज मगाएर सम्भावित स्थानमा खोजी कार्य जारी छ।’

 

 

footer