kumari
stcnepal

एन्फाको निर्वाचन आज, कस्ले मार्ला बाजी ?

काठमाडौं ।अखिल नेपाल फुटबल संघ एन्फाको आगामी चार वर्षे नेतृत्वका लागि आज केन्द्रीय कार्यसमितिको निर्वाचन हुँदैछ। काठमाडौंको बुढानिलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा हुने निर्वाचन कार्यक्रम बिहान ९ बजे सुरू हुनेछ। उद्घाटन सत्रपछि निर्वाचन प्रक्रिया अघि बढ्ने एन्फाले जनाएको छ।

वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ प्यानल सहित चुनावी मैदानमा छन्। यस्तै फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेल पनि अध्यक्षको आकांक्षी छन्। पौडेलले भने प्यानल बनाएका छैनन्। एक वरिष्ठ उपाध्यक्ष र चार जना उपाध्यक्षका लागि शेर्पा र नेम्बाङ प्यानल बाट छुट्टाछुट्टै उम्मेदवारी परेको छ।

वरिष्ठ उपाध्यक्षमा शेर्पा प्यानल बाट शिक्षित पराजुली र नेम्बाङ प्यानल बाट वीरबहादुर खड्का प्रतिस्पर्धा गर्दैछन्। यस्तै उपाध्यक्षमा शेर्पा पक्षबाट उपेन्द्रमान सिंह, दीर्घबहादुर केसी, रत्नकुमार श्रेष्ठ र विज्ञानराज शर्मा उम्मेदवार छन्। नेम्बाङ पक्ष बाट विराटजंग शाही, दावा लामा, सुन्दरनरसिंह जोशी र दीपक खतिवडा उपाध्यक्षको उम्मेदवार छन्।

२१ सदस्यीय कार्यसमितिमा १५ जना सदस्य हुनेछन्। १५ सदस्य मध्ये १३ जना खुल्ला र २ जना महिला सदस्यका लागि पनि दुवै प्यानले बाट उम्मेदवार छन्। निर्वाचनमा ७ प्रदेश मध्ये प्रदेश १ एकका सबैले नेम्बाङलाई भोट दिने सार्वजनिक रूपमै घोषणा गरेका थिए। यस्तै सी डिभिजन क्लबका मताधिकार पाएका व्यक्ति पनि नेम्बाङ पक्षका खुलेका छन्। सी डिभिजनको ९ मध्ये ७ भोट नेम्बाङ पक्षलाई जाने सी डिभिजनका एक प्रतिनिधिले दाबी गरेका छन्।

बाँकी प्रदेशमा भने दुवै पक्ष बीच तीव्र प्रतिस्पर्धा रहेको बताइएको छ। यस्तै ए र बी डिभिजन लिगमा पनि दुई पक्षको अन्तर खासै देखिदैन। यसपटकको एन्फा निर्वाचनमा ८४ जनाले मताधिकार पाएका छन्। निर्वाचनमा ४५ जिल्लाले मताधिकार पाउने भए पनि यसपटक ४२ जिल्लाले मात्र मत हाल्दैछन्।

भक्तपुर र सिन्धुलीको जिल्ला निर्वाचनमा विवाद हुँदा मताधिकार बाट बन्चित भएका थिए। यस्तै एन्फाको विधान विपरित मताधिकार दिइएको बन्दै दाबी विरोध परेपछि सिराहा जिल्लाको मताधिकार बदर भएको थियो। निर्वाचनमा १४ वटा ए डिभिजन क्लब, ११ वटा बी डिभिजन क्लब र ९ वटा सी डिभिजन क्लबले मत खसाल्नेछन्। यसैगरी राष्ट्रिय लिगमा छनोट भएका मोफसलका ४ वटा क्लबले मत दिनेछन्। एन्फा अन्तर्गतको महिला संघ, खेलाडी संघ, प्रशिक्षक संघ र रेफ्री संघले पनि मत दिनेछन्।

 

 

footer