kumari
stcnepal

सहसचिव चुडामणि शर्मा बिरूद्धको मुद्धा आज देखी बिशेष अदालतमा सुनुवाई हुदै

काठमाडौं ।विशेष अदालतले कर फर्छ्यौट आयोग र आयोगका सदस्य सचिव भई काम गरेका सहसचिव चुडामणी शर्मा विरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगसम्बन्धी तीन मुद्दाको सुनुवाइ आज देखि गर्ने भएको छ ।

विशेष अदालतले कर फर्छ्यौट आयोगको अनियमितता सम्बन्धी दुई र गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी एक मुद्दाको सुनुवाइ एक साथ गर्ने भएको हो । विशेष अदालतले शुक्रबार प्रकाशित गरेको साप्ताहिक पेशी सूचीमा यी तीन मुद्दा आइतबारका लागि तोकिएको उल्लेख छ ।

शर्मा विरुद्धको मुद्दामा विशेष अदालतले केही महिनायता प्राथमिकताका साथ पेशी तोकिरहेको छ । दुवै पक्षबाट बहस नोट मगाएको विशेष अदालतले गत महिना अदालतको सहयोगी (एमिकस क्यूरी) पठाउन आदेश दिएको थियो । विशेष अदालतले फरक विषयवस्तुका राजस्व चुहावट र गैरकानूनी सम्पत्ति आर्जनका मुद्दा समेत एकसाथ (लगाउमा) राख्नु भनी आदेश गरेको थियो ।

अख्तियारले १ साउन २०७४ मा कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्यसचिव तथा आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणी शर्मा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तीनै जना माथि ३ अर्ब ३४ करोड रुपैयाँ विगो र त्यसको दोब्बर जरिवाना हुनुपर्ने माग छ । उनीहरु विरुद्ध विगो र जरिवाना माग दावी गरिएको रकम प्रति व्यक्ति १० अर्ब २ करोड रुपैयाँ हुन्छ । एक जना प्रतिवादी माथि माग दावी गरिएको यो हाल सम्मकै ठूलो विगो हो ।

 

 

footer